आइतबार मङ्सिर २२, २०७६/ Sunday 12-08-19

फ्लोरिडामा भएको गोलीकाण्डमा चार जनाको मृत्यु

अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदीग्ध व्यक्तिको ज्यान गएको छ ।  समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको थियो ।

फ्लोरिडाको मियामीस्थित एक गहना पसलमा केही बन्दुकधारीले आक्रमण गरी गहना लुट्ने प्रयास गरेका थिए । त्यस क्रममा ती बन्दुकधारीले हानेको गोली लागेर त्यहाँ काम गर्ने एकजना कर्मचारी मारिएका छन् । त्यसलगत्तै उनीहरूले अपहरण गरी लगेका सोही पसलका सवारीचालक एक जनाको पनि ज्यान गएको बताइएको छ । 

प्रहरीले हानेको गोली लागेर गहन पसल लुट्न आएका दुई जना बन्दुकधारी मारिएका बताइएको छ । केही सामान लुटेका उनीहरूले सो पसलकै सवारीसाधनलाई नियन्त्रणमा लिएका थिए र सवारी चालकलाई समेत नियन्त्रणमा लिएर सो गाडी आफूले चाहेको स्थानतर्फ लैजान बल गरेका थिए । 

यसरी भाग्ने क्रममा देखेर प्रहरीले गोली चलाएको थियो । गोली लागेर दुई जना बन्दुकधारीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । यस गोलीकाण्डको बारेमा प्रहरीले अनुसन्धान थालेको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।