शुक्रबार असोज १०, २०७६/ Friday 09-27-19

समाजवादी शिक्षामा रुसको वैभव

रुसी साहित्यको प्रभाव विश्वभरि छ । साहित्यमा रुसी क्रान्ति र युद्धकालीन समाजबारे धेरै लेखिएको छ । यसले के देखाउँछ भने रुसले राजनीति र औद्योगिक विकासमा मात्र फड्को मारेको छैन, उसले आधुनिक शिक्षा, साहित्य र लोकसंस्कृतिमा पनि उत्तिकै उन्नति गरेको छ ।

रुसले आज औद्योगिक विकास गरिरहेको र विश्वभरि नै रुसी साहित्यको प्रभाव परेको देख्दा धेरैलाई यसको शिक्षा–नीतिबारे जिज्ञासा हुने गर्छ । यस लेखमा रुसी शिक्षामा समाजवादी प्रभाव कसरी सुरुवात भयो र यसको विकासक्रम कसरी सम्भव भयो भन्ने बारेमा चर्चा गर्न खोजिएको छ ।

पहिलो बोल्सेभिक क्रान्तिपछि रुसको शिक्षामा व्यापक परिवर्तन भएको थियो । सन् १९१९ मा भएको सोभियत कंग्रेसको आठौं अधिवेशनपछि समाजवादी शिक्षाको लक्ष्यलाई अगाडि सारियो । त्यसै सिद्धान्तमा आधारित रहेर पाठ्यक्रमहरू लेखियो ।

लियो टोल्सटोय, मिखाइल सोलोखोभ, दोस्तोयब्स्की, गोर्कीलगायतका साहित्यकारका रचना पाठ्यक्रममा समावेश गरियो । कम्युनिस्ट विचारधारा र प्रगतिशिलतालाई आधार मानेर पाठहरू निर्माण गरियो । सन् १९१८ मा देशका सबै विद्यालयलाई एकरूपीय श्रम विद्यालयको नीतिमा गाभियो ।

 

 

 

सबैले समान ढंगले शिक्षा ग्रहण गर्न पाऊन् भन्ने मनशायले यस प्रकारको शिक्षानीति लेनिनको सरकारले लिएको थियो, जसलाई सत्तापक्षीय विचारधाराको बलमा समाजवादी शिक्षा प्रणाली हुर्काउने काम स्टालिनले गरे ।

१९१७ को क्रान्ति सम्पन्न भएपछि १९१८ मा पार्र्टीको कार्यक्रमको मस्यौदा तयार गर्दै लेनिनले स्कुल शिक्षाका बारेमा भनेका थिए, ‘यो सुनिश्चित गरिनुपर्छ कि १६ वर्षसम्म सबै केटाकेटीहरूलाई निःशुल्क र अनिवार्य प्राविधिक सबै सिद्धान्त र व्यवहारमा परिचित गराउने खालको शिक्षा उपलब्ध गराउनुपर्छ, ताकि हाम्रो शिक्षा बच्चाको सामाजिक उत्पादक श्रमसँग जोडिन सकोस् ।’ यस मस्यौदामा लेनिनले बच्चाहरूको सामाजिक उत्पादक श्रमको अनिवार्यतामा जोड दिएका थिए ।

आज रुसको साक्षरता दर ९९.७ प्रतिशत छ । यो दर १५ वर्षभन्दा माथि उमेरका नागरिकको लेख्न र पढ्न सक्ने आधारमा गणना गरिएको हो । तर, सन् १८९७ मा भएको साक्षरता मापनमा सोभियत संघभरि २४ प्रतिशत मानिस मात्र साक्षर थिए ।

त्यसमध्ये पनि महिलाको साक्षरता दर १३ प्रतिशत मात्र थियो । यसरी १ सय वर्षको अन्तरालमा अनेक गृहयुद्ध र विश्वयुद्धको मार खेपेर पनि रुसले शिक्षामा ठूलो फड्को मार्न सफल भएको देखिन्छ ।

अक्टोबर क्रान्तिअघि किसान तथा मजदुरहरू अभाव र गरिबीले सताइँदै आएका थिए । उनीहरूका लागि कसरी दुई छाक जुटाउने भन्ने मात्र पीर हुन्थ्यो । अक्टोबर क्रान्तिपछि रुसी नागरिक ज्ञान र संस्कृतिको निर्माणमा लाग्न थाले । क्रान्तिपछिको करिब २० वर्षको अवधिमा निरक्षरता पूर्ण रूपमा उन्मूलन भइसकेको थियो ।

सन् १९३३ सम्म ग्रामीण शहर तथा मजदुर बस्तीहरूमा ३ हजारभन्दा बढी नयाँ स्कुलहरू बने । ग्रामीण बस्तीहरूमा १५ हजार नयाँ प्राथमिक विद्यालयहरू खोलिए । यसपछि सोभियत संघका समस्त बालबालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा पाउन थाले ।

सन् १६८७ मा खुलेको ‘स्यालभिक ल्याटिन ग्रीक एकेडेमी’ रुसको पहिलो विश्वविद्यालय मानिन्छ । यसपछि क्रमशः रुसका विभिन्न शहरमा विश्वविद्यालय खुल्न थालेका थिए, जुन क्रम जार शासनको अन्त्यपछि बढ्दै गयो । रुसले रुसी र अंग्रेजी भाषा दुवैमा शिक्षा दिने भए पनि त्यहाँका विद्यार्थीको रोजाइमा रुसी भाषा नै पर्दथ्यो, जुन व्यवस्था आज पनि कायम छ ।

सेण्ट पिटर्सबर्ग स्टेट विश्वविद्यालय, लोनोसोसोभ मस्को स्टेट विश्वविद्यालय, नोवोसिबिस्र्क स्टेट विश्वविद्यालय, टमस्क स्टेट विश्वविद्यालय आजको रुसका केही अग्रणी विश्वविद्यालयमा पर्दछन् ।

आज रुसमा निजी र सरकारी दुवै शिक्षण संस्था छन् । त्यहाँका नागरिकले आफ्नो इच्छाअनुसार जहाँ पनि अध्ययन गर्न पाउँछन् । तर, आजको रुसी महासंघ समृद्धि र ज्ञानको आजको अवस्थामा पुग्न समाजवादी शिक्षा प्रणालीकै जगले सम्भव भएको विश्लेषकहरूको मत छ ।

यस्तै, सन् १९५० को दशकपछि विश्वभरिबाट अनुवादकहरू लगेर आफ्नो साहित्य अनुवाद गर्ने कामलाई रुसी सरकारले प्राथमिकतामा राख्यो । यसले गर्दा दक्षिण एसिया, पूर्वी एसिया, पूर्वी यूरोप, ल्याटिन अमेरिका, मेक्सिकोलगायत देशमा रुसी साहित्यको प्रभाव बढ्दै गयो ।

तत्कालीन समयमा सामाजिक आन्दोलनमा होमिने विश्वभरिका अधिकांश युवाले रुसी साहित्य र राजनीतिक इतिहास पढेको पाइन्छ । यद्यपि धेरै मुलुकले रुसी भाषाका क्रान्तिकारी पुस्तकलाई प्रतिबन्ध लगाएका थिए । तर पनि रुसी साहित्य र राजनीतिका पुस्तक विश्वरभरि नै पुगेका थिए । नेपाली जनक्रान्ति र कम्युनिस्ट राजनीतिमा लागेका अधिकांश युवाले पनि रुसी साहित्य पढेका छन् ।

नेपाली विद्यार्थीको पुरानो रोजाइ

नेपालका पनि धेरै विद्यार्थी रुसमा अध्ययनका लागि जाने गरेका छन् । रुस सरकारले विश्वविद्यालय तहमा अध्ययन गर्न आउने विद्यार्थीलाई शतप्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्छ । यसबाहेक आफ्नै निजी खर्च र आंशिक छात्रवृत्तिमा विद्यार्थीहरू रुस पढ्न जान्छन् ।

हालसम्म करिब ६ हजार नेपाली विद्यार्थीले विभिन्न समयमा रुसबाट उच्च शिक्षा अध्ययन गरिसकेका छन् । २००७ सालको प्रजातन्त्र प्राप्तिपछि रुस सरकारले प्रदान गर्ने छात्रवृत्तिमा इञ्जिनियरिङ, मेडिकल, समाजशास्त्र र प्राविधिक विषय पढ्न नेपाली विद्यार्थी रुस जान थालेका थिए ।

आजभोलि रोजगारी सजिलै पाउने र पढ्नभन्दा बढी काम गर्न विदेश जाने नेपाली विद्यार्थीको आकर्षणमा जापान, अस्ट्रेलिया, अमेरिका, बेलायतजस्ता राष्ट्र पर्दै आए पनि रुसमा पढ्न जाने चलनको आफ्नै विरासत छ ।

अहिले पनि रुसी दूतावासमार्फत नेपाली विद्यार्थीलाई रुस सरकारले छात्रवृत्ति प्रदान गर्दै आएको छ । निजी खर्चमा रुस पढ्न जाने विद्यार्थीको संख्या भने अत्यन्त न्यून छ ।