शुक्रबार असोज १०, २०७६/ Friday 09-27-19

खुला ठाउँमा दिसा गरेको भन्दै दलित बालबालिकाको हत्या

भारतको मध्य प्रदेशमा खुला स्थानमा दिसापिसाब गरेको भन्दै दुईजना दलित बालबालिकाको हत्या भएको छ । हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मध्यप्रदेशको शिवपुरी जिल्लाको भावडखेडी गाउँको सडक नजिकै खुला स्थानमा दिसा गरिरहेको अवस्थामा ती बालबालिकामाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

आक्रमणबाट वाल्मीकि समाजका १२ वर्षीया रोशनी र १० वर्षका अविनाश नाम गरेका बालबालिकाको मृत्यु भएको छ ।

पीडितका पारिवारले घरमा शौचालय नभएकाले खुला स्थानमा दिसापिसाब गर्नुपरेको बताएका छन् ।

 

 

 

लाखौँ गरिब भारतीयहरू खुला स्थानमा दिसापिसाब गर्ने गर्छन्। जसबाट महिला र बालिबालिकाहरु जोखिममा पर्ने गरेका छन् ।

दुई जना बालबालिकालाई लाठीले निर्घात कुटपिट गरेको पाइएको प्रहरी उपरीक्षक राजेश चण्डेलले बताएका छन् । हत्या आरोपमा पक्राउ परेका दुवै जनामाथि प्रहरीले मुद्दा चलाएको छ ।

बुधवार बिहान भएको सो हमलाको केही घण्टापश्चात् नै प्रहरीले दुईजना माथिल्लो जातका भनिने रामेश्वर यादव र हकिम यादवलाई पक्राउ गरेको थियो ।

रोशनी र अविनाश फुपू र भदाहा थिए। रोशनीलाई अविनाशका बाबुआमाले पालनपोषण गर्दै आएका थिए ।