आइतबार माघ ७, २०८०/ Sunday 01-21-24

नवयुग श्रेष्ठको ह्याट्रिक सँगै आयोजक रेड हर्ष सेमिफाइनलमा


नवयुग श्रेष्ठको ह्याट्रिकसँगै आयोजक रेड हर्ष फुटबल क्लब प्रथम इलाम गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । इलाम सदरमुकामको ठुलो टुँडिखेलमा शनिवार भएको खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ४–० गोल अन्तरले पराजित गर्दै आयोजक सेमिफाइनल प्रवेश गरेको हो । राष्ट्रिय टोलीका पूर्व कप्तान नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको आयोजक रेड हर्षबाट श्रेष्ठले तीन गोल गरे भने उत्सव राईले एक गोल गरेका थिए । आयोजकका लागि १३ औँ मिनेटमा उत्सव राईले गोल गर्दे टिमलाई अग्रता दिलाएका थिए । खेलको मध्यान्तर अघि एक शून्य गोलले अग्रता रहेको इलाम रेड हर्ष मध्यान्तर पछिको ५५, ६५ र ८२ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दे आफ्नो टिमलाई सेमिफाइनलको यात्रा पक्का बनाएका थिए । 
पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लबले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसक्दा पहिलो खेलबाटै घर फर्किन बाध्य बनेको छ । मध्यान्तर अघि रेड हर्षलाई एक गोलमा नै रोकेको माने मानेभञ्ज्याङ मध्यान्तर पछि खेलमा फर्कने रणनीतिका साथ मैदान प्रवेश गरे पनि गोल गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिनु परेको छ । मध्यान्तरपछि मानेभञ्ज्याङले पाएको अवसरमा आयोजक रेड हर्षका गोल किपर विवेक मगर बाधक बने ।
रेड हर्ष फुटबल क्लबका क्याप्टेन नवयुग श्रेष्ठले पहिलो खेलमा जस्तो अबको खेलमा सहज नहुने भन्दै अबको खेलमा मेहनत गर्नु पर्ने बताए । खेलमा जित निकाले पनि आजको खेलमा तालमेल नमिलेको भन्दै अव अझै मेहनतका साथ उत्रनुपर्ने बताएका छन् ।  मानेभञ्ज्याङ फुटबल क्लबका टिम म्यानेजर तेन्जिङ नोर्वु भुटियाले खेलमा पाएको अवसरलाई सदुपयोग गर्न नसकेको बताए । उनले भारतमा पनि टुनामेन्ट चलिरहेको र खेलाडीमा भएको इन्जुरीको कारण पनि सोचे जस्तो खेल प्रदर्शन गर्न नसकेको बताए ।  
खेलको म्यान अफ द म्याच विजेता रेड हर्षका कप्तान नवयुग श्रेष्ठ घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे । आइतबार दोस्रो क्वाटर फाइनलमा राष्ट्रिय जागृति क्लब इटहरी र बिर्तामोड युनाइटेड झापाबिच प्रतिस्पर्धा हुनेछ ।
माघ १३ गतेसम्म सञ्चालन हुने गोल्ड कपको विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन नगद पाँच हजार पुरस्कार प्रदान गरिने आयोजक रेड हर्षका अध्यक्ष साङ्गे योल्मूले बताए । इलामको गौरवको रूपमा सुरुभएको गोल्ड कपमा भारतको एक टिमसहित ८ टिमले सहभागिता जनाएका छन् ।