आइतबार मङ्सिर २२, २०७६/ Sunday 12-08-19

नेपालमा अंग्रेजी भाषा भित्र्याउने श्री ३ जंगबहादुर

भाषा सञ्चार र संवादको माध्यम हो । आमनेसामने भएर, मिडिया र टेक्नोलोजीबाट, भाषणलगायत विभिन्न माध्यमबाट हामी संवाद गर्छौं । पछिल्लो तथ्यांकअनुसार नेपालमा १२९ भाषा प्रचलनमा छन् ।

अन्य देशका पनि आआफ्नै भाषा छन् तर विश्वमा सबैभन्दा बढी प्रयोग गरिने भाषा भने अंग्रेजी हो । संयुक्त राष्ट्रसंघले समेत ६ वटा भाषालाई प्रयोगमा ल्याएको छ, जसमा अंग्रेजी भाषा धेरै प्रयोग गरिन्छ ।

अंग्रेजी भाषाको इतिहास

बेलायतमा पाँचाैं र साताैं शताब्दीको बीचमा अंग्रेजी भाषाको विकास भएको हो । मानिसहरू आफूलाई जहाँ सहज हुन्छ, त्यहीँ बस्न थाले । सोही क्रममा पाँचाैंदेखि साताैं शताब्दीमा विभिन्न देशका मानिस बेलायत पुगेका थिए । उक्त समूहलाई ‘एङ्लो स्याक्सन’ भनिन्थ्यो । विभिन्न देशका नागरिक भएका कारण भाषालाई एकरूपता ल्याउन उनीहरूले ‘डाइलेक’ भाषा बोल्न थाले ।

डाइलेक अर्थात् त्यहीँको मुख्य भाषा होइन तर मिल्दोजुल्दो गरी बोल्न थाले । एङ्लो स्याक्सनले बनाएको भाषा नै अंग्रेजी भाषामा रूपान्तरण भएको हो । पछि यही भाषाको माध्यमबाट व्यक्तिगत, वृत्ति विकास, व्यापार व्यवसाय गर्न एङ्लो समूहले भाषाको प्रयोग गर्न थाले ।

विश्वभर अंग्रेजी कसरी फैलियो ?

बेलायतबाट अंग्रेजी भाषाको विकास भयो । अंग्रेजहरूले विस्तारै संसारमा आफ्नो राज गर्न अंग्रेजी भाषाको प्रयोग गरे । अमेरिका र बेलायतमा गोरा जातिको संख्या बढ्दै गयो । काला जातिहरूलाई दासको रूपमा प्रयोग गर्न थाले । काला जातिमा पनि गोरा जातिकै कारण अंग्रेजी बोल्न थाले ।

अंग्रेजको उपनिवेश रहेका देशहरूमा अंग्रेजी फैलिँदै गयो । विश्वयुद्धमा पनि अंग्रेजी भाषाको प्रचार भयो । त्यसैको परिणाम विश्वभर अंग्रेजी भाषा बोल्नेको संख्या बढ्दै गयो ।

नेपालको छिमेकी देश भारतमा अंग्रेजहरूकै कारण अंग्रेजी भाषाको विकास भएको पाइन्छ । भारतको अदालतमा अहिले पनि अंग्रेजी प्रयोग गरिन्छ । पछि ठूलाबडाका छोराछोरीले अंग्रेजी पढ्न थाले ।

अंग्रेजी भाषा किन ?

युद्धको चपेटामा परेका देशहरूमा विकासले गति लिन सकेन । अंग्रेजहरूको जस्तै शक्तिशाली हुनुपर्‍यो भन्ने सोच आयो । विकासोन्मुख देशहरूलाई विकसित देशहरूबाट सहयोग आवश्यक पर्‍यो । सहयोग माग्नका लागि अंग्रेजी भाषाको आवश्यकता पर्‍यो । चीन र जापानले आफैं विकास गरे तर अन्य विकासोन्मुख देशहरूले अंग्रेजहरूजस्तै बन्न अंग्रेजी भाषा सिक्न पढ्न थाले ।

पछिल्लो समय चीन र जापानले धेरै विद्यार्थीलाई अंग्रेजी सिक्न र पढ्न बेलायत र अमेरिका पठाएका छन् ।

त्यति मात्र होइन, विज्ञान, इन्जिनियरिङ, आईटीलगायतका विषय अंग्रेजी भाषाबाट पढाइन्छ । औषधिदेखि खानेकुराको नामसमेत अंग्रेजीमा हुन्छ ।

मास्टर्स पढ्न, पीएचडी गर्न र विदेश गएर पढ्न पनि अंग्रेजी भाषाको आवश्यकता पर्‍यो । अध्ययन अनुसन्धानको काम पनि अंग्रेजी भाषाबाट हुने भएकाले अंग्रेजी भाषाको मोह बढ्दै गयो ।

नेपालमा अंग्रेजी जंगबहादुरले भित्र्याए

तत्कालीन श्री ३ महाराज जंगबहादुर राणा बेलायत भ्रमणमा गएको समयमा उनले गोरा जातिले अंग्रेजी बोलेको सुने । उनले त्यो समयमा अंग्रेजी गीतसमेत सुने । अंग्रेजी भाषाका कारण बेलायतमा विकास भएको निष्कर्ष निकाल्दै उनले नेपालमा अंग्रेजी भाषा पढाउन सुरु गरेका हुन् ।

सुरुमा बेलायतबाट नै अंग्रेजी पढाउने शिक्षक ल्याएर थापाथली दरबारमा पढाउने व्यवस्था मिलाए । उक्त समयमा दरबारका परिवारले मात्र पढ्न पाउँथे । पछि दरबारमा काम गर्नेले पनि पढ्न थाले । पुरोहितका छोराछोरीले समेत पढ्न पाउने गरी दरबार हाईस्कुलमा अंग्रेजी पढाउन थालियो । त्यसबेला कतिपय दरबारका मान्छे भारतको विद्यलयमा गएर अंग्रेजी पढ्थे ।

अंग्रेजी भाषाले नेपाली भाषा मार्दैन

अंग्रेजी भाषाको मोहले नेपाली भाषाको स्तर कमजोर भयो भन्नेहरू छन् । अंग्रेजीले नेपाली भाषाको विनाश होइन, विकास गर्छ ।

नेपाली इतिहास, कला, संस्कृति, पर्यटनबारे विदेशीलाई नेपालीमा बुझाउन सकिँदैन । अंग्रेजी भाषाबाट नै नेपाली कला, संस्कृति, सौन्दर्यको प्रवर्द्धन गर्ने हो । चीन र जापानले जस्तो हामीले हाम्रो भाषामा टेक्नोलोजीको विकास गरेको भए अंग्रेजी भाषा आवश्यक पर्दैनथ्यो तर हामीले आफैं टेक्नोलोजी बनाउन नसकेपछि विदेशी देशले बनाएको प्रयोग गर्न पनि अंग्रेजी आवश्यक छ ।

नबुझेर र राज्यको स्पष्ट नीति नहुँदा समस्या देखिएको हो । कति प्रतिशत अंगेजी पढाउने ? कसरी पढाउने ? भन्ने नीति बनाउन आवश्यक छ ।

अंग्रेजीमा विद्यार्थी धेरै फेल

विद्यालय तहदेखि नै अंग्रेजी विषयलाई अनिवार्य विषयमा राखिएको छ तर दक्ष अंग्रेजी शिक्षक छैनन् । यसका कारण नेपालमा अंग्रेजी विषयमा धेरै विद्यार्थी फेल हुन्छन् । पढ्ने र पढाउने दुवैको कमजोर छ अंग्रेजी ।

बालबालिकालाई अंग्रेजी राम्रो बनाउन प्राइभेट स्कुलमा पढाइन थालेको छ । गाउँगाउँमा समेत प्राइभेट स्कुल खुलेका छन् । यसका कारण सरकारी विद्यालयमा विद्यार्थीको संख्या घट्दो छ । सरकारी विद्यालयमा अंग्रेजी राम्रो नभएकै कारण यस्तो भएको हो ।

विश्वविद्यालयको अवस्था पनि उस्तै छ । पहिले आईएस्सी, आईकम, बीए, बीकम, एमकम, एमएडजस्ता कोर्स थिए । अहिले प्राइभेट क्षेत्रबाट हस्पिटालिटी, म्यानेजमेन्ट, इन्जिनीयरिङ, कम्प्युटरजस्ता कोर्स आए । यी सबै कोर्स अंग्रेजीबाट पढाइन्छ । यो विकसित देशको प्रभाव हो ।

अनि नेल्टा

अंग्रेजीमा उत्तीर्ण हुने विद्यार्थीको संख्या बढ्दै गयो । अंग्रेजीमा फेल भएपछि विज्ञान, आईटी, इन्जिनीयरिङजस्ता कोर्स पढ्न पाएनन् । त्यसैले अंग्रेजीको माध्यमबाट गुणस्तरीय शिक्षा दिन अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) खोलिएको हो ।

‘नेल्टा’ सन् १९९२ मा स्थापना भएको गैरनाफामूलक संस्था हो । नेपाली विद्यार्थी एवं शिक्षकहरूलाई अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी सुनाइ, बोलाइ र लेखाइमा गुणस्तर कायम गर्न खोलिएको संस्था हो । नेल्टामा ५ हजार आजीवन सदस्य रहेका छन् । नेल्टाले ५५ जिल्ला र सातवटा प्रदेश कमिटी बनाएको छ । नेपालस्थित अमेरिकी राजदूतावास, ब्रिटिस काउन्सिल र भारतीय दूतावासको सहकार्यमा हेरक वर्ष सम्मेलन गर्दै आएको छ ।

नेपालमा अंग्रेजी पढाउने शिक्षकहरू नेल्टाबाट अमेरिका र बेलायत पुगेर अंग्रेजीको ट्रेनिङ लिन्छन् अनि नेपालमा आएर विद्यार्थीलाई अंग्रेजी सिकाउँछन् । यसका कारण पछिल्ला वर्षहरूमा अंग्रेजी फेल हुने विद्यार्थीको संख्या घट्दो छ ।

भाषा इकोलोजी

इकोलोजी भन्नेबित्तिकै बायोलोजी र नेचर भनेर बुझेका छन् । भाषामा पनि इकोलोजी हुन्छ । संसारमा एउटै भाषा छैन । एक व्यक्तिले एउटाभन्दा बढी भाषा बोल्छन् । त्यसैले शरीरका प्रत्येक अंग ब्यालेन्समा राखेको जस्तै भाषालाई पनि ब्यालेन्समा राख्नुपर्छ ।

सबै भाषा आवश्यक छ । त्यसभित्रको अंग्रेजी भाषालाई कसरी ब्यालेन्स गर्ने ? कसरी उपयुक्त बनाउने ? भन्ने भाषा इकोलोजी हो । शहरदेखि गाउँसम्म पढाउँदा सम्भावना र चुनौती के छन् ? दुर्गम गाउँमा कस्ता अंग्रेजी शिक्षक छन् ? विद्यार्थी कस्ता छन् ? सबै ठाउँमा समान अंग्रेजी बनाउने इकोलोजीका विषयमा बहस गर्नुपर्छ ।

गत ४ मंसिरदेखि ७ सम्म नेपालमा भएको टिसोल–नेल्टा क्षेत्रीय सम्मेलनमा पनि इकोलोजीका विषयमा बहस भएको छ ।

(नेल्टाका निर्देशक दाहालसँग दिनेश गौतमले गरेको कुराकानीमा आधारित)