आइतबार असोज १२, २०७६/ Sunday 09-29-19

उदास मनले सिकाएको पाठ

केही वर्षपहिले अछाममा केही दिन बिताएर आएपछि मलाई मानसिक अवसाद (डिप्रेसन) जस्तै भएको थियो । आफ्नो कामले समाजमा केही परिवर्तन गरेकी छु, भन्ने मेरो गर्व त अछामका गाउँहरूमा गएपछि चुरचुर भयो, तर त्योभन्दा बढी त त्यहाँको अवस्था देखेर आफ्नो जीवनप्रति, कामप्रति, लेखनप्रति नै दिक्क लाग्यो ।

‘मैले लेखेर के नै हुन्छ ? मैले गरेको कसले के पो परिवर्तन ल्याएको रहेछ र ? मैले पोषणको र महिला स्वास्थ्यको विषयमा मानिसलाई के के न जागरूक गराएकी थिएँ भन्ने ठानेको त त्यो त मेरो व्यर्थको घमण्ड पो रहेछ भन्ने भावनाले मलाई यति व्यथित बनायो कि एक महिनासम्म कुनै सामाजिक विषयमा लेख्न त परै जाओस, दिनदिनै लेख्ने डायरीलाई पनि हात लगाउन छोडें ।

सबै कामकाज छोडेर कुनै ठाउँमा गएर चुपचाप जीवनका दिनहरू बिताऊँ भन्ने अनुभव पनि भयो । कति जना साथीहरूलाई मैले भने, ‘अब त कामबाट अवकाश लिने बेला भएको छजस्तै लागेको छ । चुपचाप कतै गएर जीवन बिताऊँ कि ? ५१ वर्ष पुगिसकेको छु, मैले जीवनमा गर्न सक्ने काम सकिन लागेको छ । तर, समाजमा केही परिवर्तन ल्याउँछु भन्ने जुन घमण्ड थियो, त्यो आखिर केही रहेनछ ।’

मैले गम्भीर भएर भनेको कुरालाई मेरा साथीहरूले ‘लौ यिनी त भगवानको भक्ति पो गर्न थालिछिन्’ भनेर हँसी उडाए ।

 

 

 

कसैले ‘तिमीलाई शारीरिक र मानसिक रूपमा थकाई लागेको छ, आरामको जरुरत छ’ भने । कसैले ‘तिमीलाई हाँसो ठट्ठा गर्न त खुब आउँछ नि’ भने । तर, मेरो मनको वेदनालाई चाहिँ कसैले बुझेन ।

शायद भित्रबाट जति नै निराश, उदास र छपटिएको भए पनि मैले दैनिक क्रियाकलापमा केही परिवर्तन आउन नदिएकाले होला, मानिसहरूले मेरो उदासीपन र पीडालाई गम्भीरतापूर्वक लिएनन् । तर, मेरो छटफटाहट देखेर मेरो एक जना ६० वर्षीय साथीले चाहिँ भनिन्, ‘तिमी कति उदास, निराश र हतास भएकी ?’ संसारमा कसैले पनि सबैको समस्या हल गर्न सक्दैनन् । बुद्ध, जिसस क्राइस्टले पनि सबैका दुःख हरण गर्न सकेनन् भने तिमी को हौ र सबैका समस्या समाधान गर्ने भनेर बसेकी ? यदि यस्तै बानी व्यवहार रहने हो भने त तिमी मानसिक रोगी बन्छ्यौ र तिमीलाई औषधि नै खानुपर्ने हुन्छ ।’ उनको शब्दले मलाई हो त पनि भनेर केही सान्त्वना दियो ।

सबभन्दा ठूलो कुरा मेरो गर्वलाई चुरचुर पनि गराए । म केवल एउटा अदना मान्छे हुँ र मैले यति मात्र गर्न सक्छु भन्ने विचार आयो ।

यही बीचमा थुप्रै व्यक्तिका जीवनीहरू पढें र उनीहरूको जीवनमा पनि दुःखका क्षणहरू आएका थिए भन्ने कुरा बुझें । ठूलाठूला डक्टर, वैज्ञानिक, धनी मानिसहरूले पनि एकदमै धेरै योगदान समाजमा दिएका छन् तर मानिसहरू त अझै पनि कतिपय सेवाबाट वञ्चित छन् भने म त के पो हुँ र यति दुःख मान्नुपर्ने भन्ने भावनाले चाहिँ दुःखी मनमा केही मलहमको काम त गर्यो ।

मैले आफूलाई एकदम बहादुर, कठोर परिस्थितिमा पनि दुःखी नहुने, दुःख सुखमा मनमा एकभाव राख्ने भन्ने व्यक्ति सम्झेको थिएँ तर यसपालि चाहिँ आफूलाई नियालेर हेर्दा थाहा पाएँ कि म मनको अति कमजोर पो रहेछु । आफूलाई अरूको अगाडि बलियो देखाउन कोसिसचाहिँ गरेकी रहेछु तर भित्रपट्टिबाट आफ्नो गर्व खण्डित हुँदा कति दुःखी हुने रहेछु । यो भावनाले कति पटक त आँखाबाट बर्बरी आँसु नै झरेको थियो । घरका मानिसहरूले देख्दा ‘मैले सिरियल हेरेर आँसु आयो’ भनें । अनि मेरी छोरीले भनिन्, ‘तपाईं त बडो कडा मुटुको मान्छे, त्यसरी सिरियल हेर्दा पनि आँसु आउने ।’ ठूलो स्वरले हाँसेको उनको आवाजले मलाई झन् दुःखित बनाएको थियो । आफ्नो भावना पोख्न पनि मैले झुटको सहारा लिनुपर्ने भन्ने विचारले ।

अछामको गाउँमा जाँदा मलाई दुःखी बनाउने के–के कारणहरू आफैं खोतल्न थालें । त्यहाँ म स्वास्थ्य शिविर चलाउन गएको थिएँ । थुप्रै अन्य डाक्टरहरू पनि थिए । मैले केही महिलाहरूसँग उनीहरूको स्वास्थ्य समस्याका बारेमा कुरा गर्दा थाहा भयो उनीहरू पाठेघर झर्ने समस्या, परिवार नियोजनका साधनहरूको प्रयोगले गर्दा हुने विभिन्न समस्या, साना शिशुहरूलाई कुपोषण भएको समस्या र जीवनका दुःख कष्ट र अत्यधिक शारीरिक परिश्रमले गर्दा मानसिक र शारीरिक दुवैबाट पीडित भएर मसँग ट्याब्लेट माग्न आएका थिए तर उनीहरूको समस्या समाधान गर्ने औषधि मसँग थिएन । उनीहरूका कुपोषित बच्चाको औषधि मसँग थिएन, न उनीहरूको अछामका गाउँमा भारी बोकेर तल माथि गरेर र धेरै बच्चा पाएर खसेको पाठेघरको उपचार गर्ने साधन नै मसँग थियो ।

मैले उनीहरूलाई कुपोषित बच्चालाई के के खुवाउने भनेर एकछिन सल्लाह त दिएँ तर त्यो भनाइको व्यर्थता मलाई आफैंलाई थियो र मानौं मैले यी महिलालाई ठगिरहेको छु । मेरो सिकाइको केही अर्थ यी महिलालाई छैन भन्ने विचारले गर्दा नै मलाई अति दुःख र उदास बनाएको थियो । मैले भनेपछि के ती महिलाले आफ्नो कुपोषित बालकलाई के पोषणयुक्त खाना खुवाउँथिन् होला र ?

त्यो विचारले मलाई लामो समयसम्म पिछा छोडेन र उदास बनायो । तर, जस्तोसुकै दुःख उदासी, दुर्घटनामा पनि जीवन त अघि बढाउनैपर्छ भनेर आफूलाई सम्हाल्ने कोसिस गरें । २५ वर्षको मेरो कामको जीवनमा यदि दश जना व्यक्तिको जीवनमा पनि परिवर्तन ल्याउन सकेकी भए त्यसैलाई नै काम गरेको हुँ भन्ने मान्छु भनेर आफूलाई सम्झाउने कोसिस गरें । केही कामद्वारा कसैलाई मद्दत गरेर वा कसैले मबाट केही कुराहरू सिकेर जीवनमा प्रयोग गरेर कसैले केही फाइदा लिएका छन् भने त्यो पनि एउटा सकारात्मक काम नै हो । मैले गरेको भनेर सम्झाउन कोसिस गरेकी थिएँ ।

पछिल्लो समयमा आफ्नो अस्तित्व यो विशाल बम्हाण्डमा कति रहेछ भनेर विश्लेषण गर्दै जाँदा आफ्नो अस्तित्व त एउटा बालुवाको कणबराबर पनि नभएको जस्तो लाग्यो । बालुवाको यो कणजस्तो अस्तित्वले पो के गर्न सकिन्थ्यो र ? भन्ने भावना मनमा बारम्बार आएपछि मेरो दुःखको भावना पक्कै केही कम त भएको छ । मेरो मनको गर्वचाहिँ शून्य नै भएको छ । एउटा ठूलो पाठ पनि लिएकी छु कि मैले धेरै गरें कि भन्नु व्यर्थ हो भनेर ।

मैले एकदम ठूलो काम गरेर समाज नै परिवर्तन गर्ने ठूलो चाहनाको सट्टा केही व्यक्तिको जीवनमा परवर्तन ल्याउने मात्र इच्छा राखेको भए शायद यो कठोर उदासीले मलाई घेर्दैनथ्यो होला । यस्तै विचार गर्दा गर्दा मैले उदासीलाई हटाउन विस्तारै कोसिस गर्दै छु । मेरो सानो कामले कसैकोे अनुहारमा हाँसो आयो भने त्यही ठूलो कुरा मान्न कोसिस गर्दैछु । मलाई थाहा छैन कहिलेसम्म यो उदासीपन ममा रहिरहन्छ, एकएक सानो काम गर्दै गएपछि कहिले त यो उदासीपन घट्छ होला ।

मनको कमजोरीलाई हटाएर हाँसोमय बनाउन पनि अझ केही समय लाग्छ होला । किनभने समय नै सबभन्दा ठूलो औषधि भनी बुझ्न पनि मलाई समय नै लागेको छ ।