आइतबार असोज १२, २०७६/ Sunday 09-29-19

विचरा कांग्रेस !

नेपाली कांग्रेस यति विघ्न दयालाग्दो स्थितिमा पुग्नु देशका लागि प्रिय कुरा होइन । नेपालमा प्रजातन्त्र ल्याउन लडेको विरासत थेग्न कांग्रेसलाई ‘धौ–धौ’ परेको निर्मम सत्यलाई कांग्रेसजनले स्वीकार्नै पर्छ ।

चुनावमा जीत–हार प्राविधिक कुरा भए पनि ‘असफल भएको सत्यलाई स्वीकार्न’ कांग्रेसले ‘अधिनायकवाद’को हौवा पिट्यो । ‘पत्तासाफ’ हुने निश्चित भएपछि कांग्रेसले पिट्न थालेको उक्त हौवा जारी नै छ ।

दुईतिहाइ बहुमतसहितको जब्बर कम्युनिस्ट सरकारसँग कांग्रेसले जुध्न त के ठाडो आँखाले हेर्न पनि सकेको छैन । मुद्दाविहीन र आन्तरिक किचलोमा रुमल्लिएको कांग्रेसले सरकारको उछितो काड्नुलाई आफ्नो परम कर्तव्य र धर्म ठान्यो । ठानिरहेको छ ।

भएको र गरेको देख्नै नसक्ने, नगरेको र नभएको सबै देख्ने टाइपको चश्मा लगाएर कांग्रेस नेता तथा कार्यकर्ता सरकारको विरोधमा उत्रिरहेका छन् । उनीहरूसँग राजनीतिक मुद्दा छैन । कहिले फेसबुके सेलिब्रेटी ज्ञानेन्द्र शाहीलाई हतियार बनाएर जुलुसमा निस्कछन् । कहिले राष्ट्रपतिले ‘भाषण बुझिनँ’ भनेको कुरालाई विरोधको मसला बनाउँछन् ।

 

 

 

कुन समूहले सरकारको विरोध गरिदेला र उसैलाई समर्थन गर्न पाइएला भनेर कुरेर बस्छन् कांग्रेस कार्यकर्ता । कहिले गोविन्द केसीले अनशन बस्ने दिन कुर्छन्, कहिले राजपाले नागरिकता मुद्दा उठादिए हुन्थ्यो भनेर कामना गर्छन् । यसरी कुइरोको काग बनेको कांग्रेसप्रति दया जाग्नु नौलो होइन ।

गगन थापा र विश्वप्रकाशको वाकपटुताले थेगेका ‘कांग्रेसी तरुण’ त्यतिबेला अवाक् हुन्छन्, जतिबेला उनीहरू गुटभन्दा माथि उठ्न नसकेको सत्य छताछुल्ल हुन्छ । परिवर्तनको हुंकार दिने कांग्रेस नेता संविधानले किनारा लगाइसकेको धर्मको मुद्दा उठाएर जनताको मन जित्ने चेष्टा गर्छन् ।

साँच्चै, कांग्रेसको कुनै निशाना छैन । हान्दा ‘जहाँ लाग्यो, त्यहीँ निशाना हो’ भन्दै आत्मरतिमा रमाइरहेको कांग्रेसले ‘कम्युनिस्ट मत घट्नु भनेको आफ्नो बढ्नु हो’ भन्ठानेको छ । यो भ्रमले कांग्रेसलाई झन् शिथिल बनाउने निश्चित छ ।

कांग्रेसलाई गणतन्त्र, संघीयता स्वीकार्दिन परेको छ । आत्मा अन्यत्र छ । आगामी चुनाव जित्नैपर्ने दबाब छ । सरकारको विरोध मात्रै गरेर कार्यकर्ता थेग्ने काम पनि कम्ति मुश्किल छैन ।

गुटहरूको महासंघ जस्तै छ कांग्रेस । नेतैपिच्छेको गुट । पार्टीको भन्दा गुटकै ज्यादा माया । भ्रातृसंस्था गन्जागोल छ । सभापतिको व्यवहार बुझ्न धौधौ छ कार्यकर्तालाई ।

सैद्धान्तिक कुरा गरेर कांग्रेसलाई खिसी गर्नु आवश्यक छैन । व्यावहारिक पक्ष नै यति झूर छ कि, आलोचना गर्दा आलोचना नै लज्जित हुने स्थिति छ । इतिहासकै सबैभन्दा लाचार र निरीह प्रतिपक्षी कांग्रेस अपजसको भारीले थिचिएको छ ।

कुनै भ्रष्टाचार प्रकरणका कुरा आए कांग्रेस नेता वा नेतृत्वमा ठोक्किएपछि झिसमिसिन्छ । विकास निर्माणमा भएको अल्याङ टल्याङको कुरा गर्दा कांग्रेसकै ठेकेदारसँग ठोकिन्छ । सरकारले निर्गतिलो काम गर्दा पनि गतिलो प्रतिरोध गर्ने ल्याकत गुमाइसकेको कांग्रेसले जबसम्म आफ्नै राजनीतिक मुद्दाको विकास गर्दैन, तबसम्म दयालाग्दो स्थितिबाट गुज्रनुपर्ने पक्का छ ।

सरकारले निरन्तर गल्ती गरिरहँदा पनि कांग्रेस निरीह बनिरह्यो । राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग, महान्यायाधिवक्ताको कार्यालयजस्ता शक्तिशाली सरकारी निकायलाई प्रधानमन्त्री ओलीले आफैंसँग राखे ।

जुन प्रधानमन्त्री बढ्ता शक्तिशाली हुने अभिलाशाबाट प्रेरित थियो । तर, कांग्रेस नेताले भाषणमा ‘अधिनायकवाद’को सुगारटानभन्दा बढी केही गर्न सकेन । जुन विषयमा लोकतन्त्रको ठेकेदार ठान्ने कांग्रेस कर्मकाण्डी आलोचनाभन्दा माथि उठ्न नसक्नु लज्जाको विषय थियो, हो ।

चिनीकाण्ड, सुनकाण्ड, वाइडबडी, विमानकाण्ड, बूढीगण्डकीकाण्ड, बालुवाटार जग्गालगायतका विविध प्रकरणमा आफ्नै गल्तीले कांग्रेस मौन बस्न अभिषप्त भयो । सासूलाई राजदूत बनाउने बार्गेनिङमा सरकारलाई गल्ती गर्ने छुट दिएर कांग्रेस सभापति देउवाले गरेको थप गल्तीको सजाय दिने हैसियत कार्यकर्तासँग छैन ।

सरकारको कर्मकाण्डी विरोधभन्दा माथि उठ्न नसकेको कांग्रेसले जागरण अभियान चलायो । जुन गुट मौलाउने मसला मात्रै भयो । जसकारण कार्यकर्तामा जागरण होइन, निराशा बढायो । निराश कार्यकर्ता बोकेर कांग्रेसले शक्तिशाली सरकारसामू सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने आश बेकार छ ।