आइतबार मङ्सिर २२, २०७६/ Sunday 12-08-19

मुम्बई : ‘चेली बेच्ने’देखि नेपालीको सपनाको शहरसम्म

मुम्बई भन्नेबित्तिकै धेरै नेपालीको मनमस्तिष्कमा मनोरञ्जन, रसरंग र रंगीन रातको भीडभाड रहेको शहर भनेर छाप बसेको छ । तर, यसको पहिचान यतिमा मात्र सीमित छैन ।

मुम्बई विश्वकै ठूला शहरमध्येमा पर्छ । मुम्बईको यो वैभव भारत र एसियामा मात्र होइन, विश्वमै ईर्ष्यालाग्दो पनि छ । मुम्बईलाई नेपालीले बुझेजस्तो रंगीन शहर मात्र होइन, यो शहर भविष्य खोज्ने मिहिनेती हरेक मान्छेको जीवन गुजारा गर्ने अर्थात् अवसर प्राप्त गर्ने शहरसँगै ‘स्वर्ग’ पनि हो ।

मानव समाजका हरेक क्षेत्रमा प्रभाव जमाउन सक्ने मुम्बईको महत्त्व बुझेर नै होला अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ ‘ट्रम्प टावर’ नै निर्माण गरिरहेका छन् । भारतका लागि ‘युरोपको ढोका’ भनेर चिनिएको मुम्बई संसारका धनी र ठूला व्यापारीको शहर पनि हो ।

अम्वानी व्यापारिक घरानाको भविष्य बनाउने मुम्बई चलचित्र, कला, मनोरञ्जन र संगीत मात्र होइन, समृद्धिको वैभव भएको शहर पनि हो । गगनचुम्बी र आलिशान महल मात्र होइन, हजारौं झुपरपट्टी पनि मुम्बईको पहिचान हो ।

नेपालीसँग मुम्बईको सम्बन्ध

नेपालको भन्दा बढी अर्थात् झण्डै ३ करोड जनसंख्या बोकेको मुम्बईमा भविष्य खोज्ने नेपालीको संख्या पनि कम छैन । चार दशकदेखि मुम्बईमा रहेर पत्रकारिता गरिरहेका भूमिलाल पौडेल (प्रकाश)का अनुसार मुम्बईमा १ लाखभन्दा बढी नेपाली र नेपालीभाषी बसोबास गर्छन् ।

सुन्दर भविष्यको खोजीमा मुम्बई छिरेका नेपाली धर्तीमा जन्मिएका प्रसिद्ध गायक उदितनारायण झा हुन् वा नायिका मनीषा कोइराला, उनीहरूले ख्याति यही शहरबाट कमाएका थिए ।

मुम्बईमा ख्याति कमाउने मात्र छैनन् । त्यहाँ दर्दनाक र नारकीय जीवनयापन गर्ने नेपाली चेलीको कथा पनि कम छैन । नेपालका दुर्गम र दूरदराजका चेलीलाई मनोरञ्जन र आम्दानीको साधन बनाउने उद्देश्यले मुम्बईमा बेचिएका कथा अचेल कमै सुन्ने गरिएको छ ।

तर, मुम्बई जाने हरेक नेपालीलाई यही कलंकले हरपल घोच्ने गरेको छ । पत्रकार पौडेलले भने, ‘नेपालीको मनमा मुम्बई भन्नेबित्तिकै चेलीबेटी बेचिने शहर भनेर बुझ्ने गर्छन् । यस्तो धारणालाई मेटाउन सकिएको छैन । नेपाली नागरिक मात्र होइन, कर्मचारीतन्त्रमा समेत त्यही नकारात्मक सोचले राज गरेको छ ।’

मुम्बईमा परिवारका सदस्यसँगै पेसा र व्यवसाय गर्नेमध्ये अधिकांश महिला पनि छन् । तर, उनीहरूले नेपाल–भारतको बोर्डर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागका कर्मचारीहरूले गर्ने व्यवहारबाट निकै सास्ती खेप्ने गरेका छन् ।

भारतमा बसोबास गर्ने कुनै नेपालीभाषी पुरुषले नेपाली चेलीसँग विवाह गरी मुम्बई जान लाग्दा निकै दुर्व्यवहार र विभेद खेप्नुपरेको भुक्तभोगीहरू बताउँछन् । आफ्ना परिवारका सदस्य महिला कसैलाई मुम्बईमा घुम्न र काम गर्नका लागि ल्याउँदा पनि अपमानित हुनुपरेको गुनासो गरेका छन् ।

स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालको आयोजनामा मंसिरको पहिलो साता मुम्बई यात्रामा गएको यस सञ्चारकर्मीले पनि यस्तै व्यवहार देख्न पाएको थियो । नेपाल एयरलाइन्सबाट मुम्बई जाने उडानमा अध्यागमनका कर्मचारीबाट एक युवतीलाई यसरी नै ‘ह्यारेस’ गरिएको थियो ।

उनले आफू मुम्बईमा सानिमालाई भेट्न जान लागेको, आफ्नो पासपोर्ट रहेको, जहाजको टिकट रहेको र दिल्लीसहित भारतका अन्य शहरमा पनि बसेको बताइरहँदासमेत अध्यागमनले उनलाई जाने अनुमति दिएन । ती महिलालाई उनका पिताले सहीछाप गराएपछि मात्र हवाई यात्राको अनुमति दिइएको थियो ।

मुम्बईमा आफ्नो ख्याति, पहिचान बनाउने मात्र होइन, अर्थ आर्जन गर्नसमेत नेपाली र नेपालीभाषी सफल भएका छन् । आजभन्दा ४० वर्षअघि भविष्यको खोजीमा मुम्बई छिरेका मोतीलाल न्यौपाने हुन् वा शालिग्राम तिवारी सबै मुम्बईमा स्थापित भएका छन् ।

न्यौपानेको नेतृत्वमा गठन भएको मनकामना एकता फाउण्डेसनले मुम्बईमा रहेका नेपालीभाषीलाई भाषा, संस्कृति, जाति र संस्कारको अधारमा जोड्ने प्रयास गरेको छ । यस संस्थाले काम, माम, दाम र नामको खोजीमा मुम्बईमा छरिएका नेपालीलाई जोड्ने प्रयास गरेको छ ।

मुम्बई विश्वकै चलचित्र नगरीमा अब्बल, सर्वोत्कृष्ट र ठूलो मानिन्छ । बलिउडबाट दैनिक सरदर तीनवटा चलचित्र निर्माण हुने गर्छ । गीत, संगीतको क्षेत्रमा मुम्बई विश्वकै सबैभन्दा धेरै गीत रेकर्डिङ गर्ने शहर पनि हो ।
दक्षिण एसियालाई युरोपसँग जोड्ने शहर पनि मुम्बई नै हो । त्यसैले यसलाई भारतको ढोका अर्थात् ‘इण्डिया गेट’ पनि भनिन्छ । यस्तो शहर मुम्बईमा धेरैजसो नेपालीले होटल, रेस्टुरेन्ट व्यवसाय गरेका छन् ।

त्यसका साथै अझै हजारौं नेपालीले बलिउड फिल्म उद्योगमा काम पाएका छन् । बलिउडमा ४० वर्षदेखि चलचित्र उत्पादन र निर्माण गर्दै आएकाे बालाजी फिल्म इन्डष्ट्रिजमा नेपाली नागरिक रवि भट्टराईले पाएकाे सफलता उदाहरणीय छ । 

बलिउड मनोरञ्जनको शहर मात्र होइन, पर्यटकीय शहर पनि हो । हिन्दुहरूको पवित्र धार्मिकस्थल महालक्ष्मी मन्दिर यहीँ पर्छ, जहाँ बहुसंख्यक नेपालीभाषी र हिन्दुहरू धार्मिक आस्थाका कारण पुग्छन् ।

नेपाली कतिपय नागरिकले सोचेजस्तै मुम्बईको चेलीबेटी बेचबिखन हुने शहरको पहिचान बदलिएको छ । मनोरञ्जनका लागि खोलिएका कतिपय रेस्टुरेन्टमा महिलालाई यति धेरै सम्मान गरिन्छ कि गीत गाउने र नाच्नेलाई मुस्किलले छुनसमेत पाइँदैन ।

मुम्बईको अर्को पहिचान भनेको रातभर ब्युँझने र दिनभर सुत्ने शहर पनि हो । यहाँ राती बजार लाग्छ, चहलपहल हुन्छ र मान्छेहरू आफ्नो पेसामा ब्यस्त हुन्छन् । रात होस् वा दिउँसो, मुम्बई सुरक्षित शहर हो ।

भारतभरमा महाराष्ट्र प्रहरी निकै अब्बल मानिन्छ । आठौं तल्ला रहेको मुम्बई छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा हराएको हाम्रा सहयात्रीले छाडेको लगेज तीन घण्टापछि फर्किंदा पनि भेटिएको थियो ।

मुम्बईमा राजनीतिक प्रभाव सधैं क्षेत्रीय दल शिव सेनाको रहने गरेको छ । राष्ट्रिय पार्टीको रूपमा पहिचान बनाएका कांग्रेस र भारतीय जनता पार्टीलाई मुम्बईमा शिव सेनाले नै ‘डोमिनेट’ गर्ने गरेको छ ।

हिन्दु कट्टरवादी दलको रूपमा चिनिएको शिव सेनामा धेरै नेपालीभाषी नेतृत्व तहमा समेत पुगेका छन् ।

यसरी धेरै नेपालीले भविष्य बनाएको शहर मुम्बईलाई नेपाल र भारतबीचको सीमा विवादले कहिलेकाहीँ बिथोल्ने गरेको छ । पत्रकार पौडेल भन्छन्, ‘यहाँ विभिन्न पेसा र व्यवसाय गरेर बसेका नेपालीभाषीको चाहना नेपाल र भारतबीचको सीमा विवाद विरोध र प्रदर्शनबाट नभई वार्ता र संवादबाट समाधान गरे हुने थियो भन्ने छ ।’