शुक्रबार असोज १०, २०७६/ Friday 09-27-19

सानै उमेरमा तेक्वान्दो प्रशिक्षक बन्न सफल ‘ब्ल्याकबेल्ट’ गौरी

साहसिक खेल हो तेक्वान्दो । यो खेल सबैले खेल्न त टाढाको कुरा, हेर्न पनि डर मान्ने गर्दछन् । त्यसमा पनि महिला तेक्वान्दो खेल्छन् भन्ने कुरा आजभोलि सामान्य नै लागे पनि महिला प्रशिक्षक भन्ने सुन्दा भने अचम्म लाग्छ । तर, एक वर्षदेखि निरन्तर रूपमा तेक्वान्दो प्रशिक्षण गर्दै आएकी छिन् डडेलधुराको परशुराम नगरपालिका– ५, परिगाउँकी गौरी हमाल ।

सानै उमेरबाट तेक्वान्दो खेलप्रति अभिरुचि

सानै उमेरदेखि तेक्वान्दो खेलप्रति रुचि राख्ने गौरी भुवनेश्वरी नमूना माविमा अध्ययनरत छात्रा हुन् । उनी हरेक दिन बेलुकी बालबालिकालाई तेक्वान्दो खेल सिकाउनमा ब्यस्त देखिन्छिन् ।
विद्यालकै मैदानमा बेलुकी हुनासाथ ३५ भन्दा बढी बालबालिकालाई मार्सलआर्ट तेक्वान्दो सिकाइरहेकी हुन्छिन् उनी । मार्सलआर्टबाटै ‘ब्लाकबेल्ट’ गरेकी गौरीले पछिल्लो एक वर्षदेखि यहाँका बालबालिकालाई तेक्वान्दो खेल सिकाउँदै आएकी छिन् ।

जिल्लाको भित्री मधेस जोगबुढाको परशुराम नगरपालिका– ५, परिगाउँमा रहेको भुवनेश्वरी नमूना माविमा अध्ययनरत गौरी सानैदेखि तेक्वान्दो खेल्दै आएकी हुन् । उनी आफू ‘ब्ल्याकबेल्ट’ भइसकेपछि बालबालिकाहरूलाई पनि आफूले सिकेको खेल सिकाउँदै छिन् । उनले खेलाउने खेलाडी अहिले ‘ब्लूबेल्ट’ सम्म पुगिसकेका छन् ।

 

 

आफूले सिकाउने खेलाडीलाई प्रत्येक ३/३ महिनामा परीक्षा लिएर बेल्ट दिने गर्छिन् उनी । खेलका आधारमा खेलका चरणहरू सजिलै पार गर्ने बालबालिकालाई तीन–तीन महिनामा बेल्ट फेर्दै माथि बढाउँदै लैजाने उनले बताइन् । खेलाडीलाई प्रमोसनका साथै उत्साह हौसला दिनका लागि गौरीका गुरु राजेन्द्र मडैंले बेल्ट बाँड्ने गर्दछन् ।

तेक्वान्दोमा विभिन्न पदक जित्न सफल

गौरी मार्सलआर्टको ‘ब्ल्याबेल्ट’ भइसकेपछि ५३–५७ केजी तौल समूहमा प्रतिस्पर्धासमेत गर्दै आएकी छिन् । उनले अहिलेसम्म खेलेका खेलहरुमध्ये सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ अन्तर्गत क्षेत्रीय छनोट प्रतियोगितामा द्वितीय भइन् ।

राखेप च्याम्पियनसिप २०७४ सुदूरपश्चिमाञ्चल क्षेत्रीय तेक्वान्दो प्रतियोगितामा उनी प्रथम भएकी थिइन् भने २०७५ मा राष्ट्रिय तेक्वान्दो एसोसिएनको आयोजनामा जिल्ला तेक्वान्दो च्याम्पियनसिपमा उनी ५५ केजी तौल समूहमा च्याम्पियन बनिन् ।

राष्ट्रिय तेक्वान्दो एसोसिएसन नेपालको जिल्ला तेक्वान्दो च्याम्पियनसिप २०७५ मा नै उनी जिल्ला च्याम्पियन पनि बनिन् । राखेप च्याम्पियनसिप २०७४ मा भने उनी तृतीय भएकी थिइन् । जिल्लास्तरमा हुने प्रतियोगितामा कहिले प्रथम त कहिले द्वितीय स्थान ल्याउन उनी सफल बनेकी छन् ।

गौरीले प्रशिक्षण गराएबापत १ सय रुपैयाँ शुल्क तोकेकी छिन् । तर, त्यो १ सय रुपैयाँ पनि बालबालिकाहरू दिन मान्दैनन् । ‘३५ जनामध्ये ४/५ जना मात्रैले शुल्क दिन्छन्, अरुले दिँदैनन् ।’ उनले भनिन्, ‘धेरैको खेल्ने रहर छ, तर उनीहरूसँग पैसा हुँदैन । त्यही भएर म आऊ, खेल सिकाइदिन्छु भन्छु अनि उनीहरू आउँछन् खेल्छन् ।’

तेक्वान्दो खेलकुदमा सहयोग नगरेको गुनासो

घरनजिकैको विद्यालयमा अध्ययनरत गौरी ‘ब्ल्याकबेल्ट’ पछि विद्यालयमा नै गाउँका बालबालिकाहरूलाई तेक्वान्दो खेलाउँदै आए पनि स्थानीय सरकारले अहिलेसम्म तेक्वान्दो खेलका लागि सहयोग नगरेको बताउँछिन् ।

प्रतियोगिताका लागि काठमाडौं जानुपर्दा तीन जना प्रतियोगीका लागि नगरपालिका तथा वडाले ७ हजार मात्रै छुटाउँदा निराश भएको उनले सुनाइन् ।

‘प्रतियोगितामा भाग लिन हामी तीन जना जानुपर्ने थियो । नगरपालिका, वडासँग गुहार माग्दा ७ हजार रुपैयाँ दिने कुरा भयो । म त आफ्नै खर्चमा गएँ तर अरु दुई जनाले सहभागिता जनाउन नसक्दा निराश भइयो,’ उनले भनिन, ‘खासगरी थोरै मात्रामा खेलकुद प्रतियोगिता हुने डडेलधुरा, त्यसमा पनि पछाडि परेको जोगबुढा क्षेत्रमा खेलकुदका कुनै पनि प्रतियोगिता हुँदैनन् । राम्राराम्रा क्षमतावान् खेलाडीहरू छन् । तर, आर्थिक रूपमा कमजोर हुनाले जिल्लाबाहिर हुने प्रतियोगितामा सहभागिता जनाउन नसक्दा क्षमता देखाउन सकिएको छैन ।’

सकेअनुसार जिल्लाबाहिर तथा संघीय राजधानी काठमाडौंसम्म प्रतियोगितामा भाग लिइए पनि दक्ष कोच नहुँदा आवश्यक ज्ञान हासिल गर्न नसकिने अवस्था रहेको गौरीले बताइन् । काठमाडौंमा हुने प्रतियोगिताहरूमा सुदूरपश्चिमको भनेर अपहेलित हुनुका साथै प्रतियोगितामा पनि हरेक बहानामा अंक गुमाउनुपर्छ ।’ यस्तो हुँदा क्षमतावान् खेलाडीको भविष्यमाथि खेलवाड हुने गरेको उनको आरोप छ ।

विपद् जोखिमले जिल्लाको अति संकटापन्न क्षेत्रमा रहेको जोगबुढा र त्यसमा पनि महाकाली, रंगुन पन्तुरा नदीको कटानमा रहेको परिगाउँ विकट क्षेत्रमा मार्सलआर्ट सिकाइरहेकी गौरीले सरकारले खेलकुद क्षेत्रलाई प्रोत्साहान गर्न नसकेको बताउँछिन् । देश नयाँ संरचना संघीय तहमा गए पनि काम गर्ने शैली परिवर्तन नभएको उनको बुझाइ छ ।

गाउँ–गाउँमा सिंहदरबार भनिए पनि महिला तथा स्थानीयका मागबमोजिमका काम अहिले पनि हुन नसक्दा निराश बन्नुपर्ने अवस्था सिर्जना भएको उनले बताइन् । खेलकुद क्षेत्र तथा त्यसमा पनि तेक्वान्दाको विकासका लागि परशुराम नगरपालिका तथा आफ्नो वडाले कुनै गतिविधि गर्न नसक्दा आफू प्रशिक्षकमै सीमित बन्न पुगेको उनको गुनासो छ ।