बुधबार पौष ११, २०८०/ Wednesday 12-27-23

महिला क्रिकेटमा एपीएफको प्लेअफ पक्का, कर्णाली पाँचौ खेलमा पनि पराजित

१० पुस, काठमाडौं । एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्ले अफमा स्थान पक्का गरेको छ ।

प्रतियोगितामा लगातार पाँचौ खेल जित्ने क्रममा कर्णाली प्रदेशलाई ९२ रनको फराकिलो अन्तरले हराउँदै एपीएफले शीर्ष ४ रहँदै प्लेअफ खेल्ने पक्का गरेको हो ।

 

 

 

कर्णालीको भने प्रतियोगितामा यो लगातार पाँचौं हार हो । लिगमा एपीएफ र कर्णाली दुवैको समान २ खेल बाँकी छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १६१ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६८ रन मात्र बनाउन सक्यो ।

 

 

कर्णालीका लागि ओपनर तिर्सना विश्वकर्माले १९ बलमा ३ चौका सहित १९ रन बनाइन् । रश्मि खड्काले १० र गौरी बोहोराले १२ रन बनाइन् । अन्जु ६ रनमा र निलम शाही शुन्यमा अविजित रहिन् ।

बलिङतर्फ अनुभवी स्पिनर करुणा भण्डारीले सर्वाधिक ४ विकेट लिइन् । सुमन विष्टले २ विकेट लिइन् । बिनु बुढा र सीता राना मगरले समान १/१ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १६० रन बनाएको थियो ।

पहिलो विकेटका लागि एपीएफका राजमति ऐरी र ममता चौधरीले ११७ रनको शतकीय पारी खेले ।

व्यक्तिगततर्फ राजमति ऐरीले सर्वाधिक ६७ रन बनाइन् । उनले ५५ बलमा ९ चौका र २ छक्का प्रहार गरिन् । ममता चौधरीले ५५ बलमा ८ चौकासहित ६२ रन बनाइन् । रोमा थापा १४ र मन्जु बोगटी १ रनमा अविजित रहे ।

कर्णालीका लागि एकमात्र विकेट तिर्सना विश्वकर्माले लिइन् ।

एपीएफ प्रतियोगितामा अपराजित छ । पहिलो खेलमा सुदूरपश्चिमलाई ९ विकेट, मधेश प्रदेशलाई १० विकेट, लुम्बिनी प्रदेशमाथि ९० रन र कोशी प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो ।

कर्णाली भने पहिलो खेलमा कोशीप्रदेशसँग १० विकेट, गण्डकीसँग ४४ रन, सुदुरपश्चिमसँग ८१ रन र लुम्बिनीसँग ३० रनले पराजित भएको थियो ।