आइतबार मङ्सिर २२, २०७६/ Sunday 12-08-19

बजारमा आस्थाको ‘आधार–२’

गायिका आस्था राउतको दोस्रो एल्बम ‘आधार भाग २’ सार्वजनिक भएको छ । म्युजिक नेपालले उत्पादन गरेको एल्बमलाई बिहीबार राजधानीमा एक कार्यक्रमका बीच हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह), संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा सावित्री राउतलगायतले एल्बम सार्वजनिक गरे ।

कार्यक्रममा कलाकार हरिवंशले आस्थासँग आफूले चलचित्र ‘छक्का पन्जा २’ को एक गीत ‘झ्याम्म झ्याम्म’मा सहकार्य गर्न पाएको स्मरण गर्दै आस्थाको स्वर भिन्न रहेको दाबी गरे ।

‘जोकोहीको गीत सुनिरहँदा त्यो गीत सोही गायकगायिकाको हो कि होइन भन्ने अन्याेल हुन्छ । किनकि त्यस्तै किसिमको स्वर अन्य गायकगायिकाको पनि हुन्छ,’ हरिवंशले भने, ‘तर आस्थाको स्वर सुन्दा उनको जस्तो स्वर अन्यमा पाइँदैन । त्यसकारण परबाटै यो गीत आस्थाले नै गाएको हो भन्नेमा ढुक्क भइन्छ ।’

त्यस्तै, कलाकार मदनकृष्णले कम उमेरमै आस्थाले नेपाली सांगीतिक क्षेत्रमा गरेको प्रगति देखेर आफूलाई खुशी लागेको बताए । ‘सांगीतिक वातावरणमा जन्मेर, हुर्केर होला, आस्थामा गायकीको नयाँ फ्लेबर पाउँछौं’, उनले भने ।

आस्थाका सांगीतिक गुरु संगीतकार सुरेश अधिकारीले आस्था जस्तोसुकै फ्लेबरको गीत पनि गाउन सक्ने प्रतिभाशाली गायिका भएको बताए । आस्थाका पिता हरिबहादुरले आफूलाई आस्थाको पिता भनेर चिनाउन पाउँदा खुशी लाग्ने बताए ।

एल्बममा ‘दसैं आयो तिहार आयो’, ‘कलधारा’, ‘हवाई जहाजको टिकट’, ‘सिमाना’, ‘राम साइली’, ‘नाकैमा फुली’, ‘को छ यहाँ र झलझल गर्ने’ बोलका गीत छन् ।

यी गीतमध्ये ‘को छ यहाँ ’बोलको गीतमा आस्थाकी आमा सावित्री राउतको शब्द रहेको छ । बाँकी छवटा गीतमा सुरेश अधिकारीको शब्द र संगीत छ ।

कार्यक्रममा ‘नाकैमा फुली’ गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । शान थापाले निर्देशन गरेको भिडियोमा आँचल शर्मा र महेश खड्का फिचर्ड छन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र अनिल के मानन्धरको छायांकन छ ।

‘आधार भाग २ ’मा रहेका गीतमध्ये ‘दसैं आयो तिहार आयो’ बोलको गीतको म्युजिक भिडियो म्युजिक नेपालको युट्युब च्यानलका साथै मुभी एण्ड मस्ती र नेपाल अनडिमाण्ड एपमा सुन्न र हेर्न सकिन्छ ।

आस्थाको पहिलो एल्बम ‘आधार’ का गीतहरू ‘खै त मलाई झुम्के बुलाकी’, ‘चौबन्दी पटुकी’ चर्चित गीत हुन् । आस्था हाल टेलिभिजन गायन रियालिटी शो ‘दी भ्वाइस अफ नेपाल’ सिजन २ का एक निर्णायक पनि हुन् ।