आइतबार असोज १२, २०७६/ Sunday 09-29-19

जसलाई रिल र रियल लाइफ छुट्याउन गाह्रो पर्छ

फुलेको कपाल । चिल्ला गाला । अग्लो कद । जोशिलो व्यवहार । उमेरले ६५ काटे पनि वरिष्ठ कलाकार हरिहर शर्मा युवा देखिन्छन् । उनको सक्रियता, चिन्तन र व्यवहार पनि तन्नेरीकै जस्तो छ ।

नेपाली कला साहित्य क्षेत्रमा ५ दशकदेखि निरन्तर सक्रिय शर्मा अहिले पनि विभिन्न साहित्यिक कार्यक्रममा पुगिरहेका हुन्छन् । अभिनय गरिरहेका हुन्छन् । हो, अभिनयप्रतिको भोक अझै मरेको छैन शर्मामा ।

शिक्षित परिवारमा जन्म, सुखद बाल्यकाल

प्युठानको शिक्षित परिवारमा जन्मिएका शर्माको बाल्यकाल सुखद नै रह्यो । घरमा हजुरबुबा वैद्धिकशास्त्रमा आस्था राख्थे । उनका बुबाआमाले पनि वैद्धिकशास्त्रको ज्ञान हासिल गरेका थिए । बुबाआमा नै शिक्षित भएपछि पढाइलेखाइमा अवरोध आउने कुरै भएन । समग्रमा शर्माको बाल्यकाल ग्रामीण परिवारको औसत स्थितिभन्दा सहज ढंगमा बित्यो ।

‘सानैदेखि लगाएको काम इमानदारीपूर्वक गर्थें, पढाइ पनि राम्रै थियो,’ बाल्यकालको स्मरण गर्दै उनले भने, ‘स्कुलमा सरहरूले माया गर्नुहुन्थ्यो । ७/८ कक्षादेखि नै पढ्नेसँगै पढाउँथें पनि । कक्षाको टप विद्यार्थीभित्र पर्थें ।’

 

 

 

गाउँकै शारदा निम्नमाध्यमिक विद्यालयबाट स्कुले पढाइ सके उनले । उच्च शिक्षाका लागि भारतको आसाम गए । दुई वर्ष भारतमा पढेर उनी काठमाडौं आए । र, ठमेलस्थित अमृत साइन्स क्याम्पसबाट बाँकी अध्ययन अघि बढाए । शर्माले औपचारिक रूपमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।

‘क्याम्पस जीवन’ देखि कलाक्षेत्रमा

क्याम्पसमा विभिन्न सांगीतिक कार्यक्रम हुन्थ्यो । शर्मा पनि उक्त कार्यक्रममा सहभागी हुन्थे । त्यसै क्रममा उनले मदनदास श्रेष्ठ, सकुन्तला गुरुङलगायत नेपाली रंगमञ्चमा कहलिएका कलाकारसँग भेट्ने मौका पाए । उनीहरूसँग संगत बढ्दै भयो । अनि उनी पनि नाटक लेख्न र अभिनय गर्न थाले ।

शर्मामा बाल्यकालदेखि अभिनयप्रति रूचि थियो । विद्यालय पढ्दादेखि नै नाटकमा अभिनय गरेका उनलाई कलाक्षेत्रमा अघि बढ्नचाहिँ ‘कलेज लाइफ’मा सजिलो भयो ।

‘स्कुलमा पनि नाटकमा अभिनय गरें । पुरस्कृत पनि भएँ,’ उनले भने, ‘त्यही बेलादेखि नै अभिनयप्रति हुटहुटी बढेको थियो ।’

१९६६ सालमा ‘आमाको पुकार’ नाटकबाट अभिनय सुरू गरेका शर्मा अहिले पनि उत्तिकै सक्रिय छन् । उनले पहिलो पटक २०२४ सालमा अभिनय गरेको सिनेमाचाहिँ ‘सिन्दुर’ हो । उनले अहिलेसम्म ६७ भन्दा बढी सिनेमामा अभिनय गरिसकेका छन् ।

प्रायः ‘बोल्ड भूमिका’मा अभिनय गर्ने शर्माले आफूलाई चलचित्र जगतमा पृथक ढंगमा स्थापित गराए । र त उनी कलाकार मात्रै नभई अभिनेता बन्न सफल भए ।
१६ वर्षमा ६० वर्षको अभिनय !

शर्मा अद्भूत क्षमता भएका कलाकार हुन् । १६/१७ वर्ष उक्लँदै थिए उनी । आफूलाई ६०/६५ वर्षको वृद्ध उमेरका व्यक्तिको चरित्रमा ढाल्नु थियो । त्यो आफंैमा चुनौती थियो । अन्ततः उत्कृष्ट अभिनय गरे । त्यो अभिनय कौशलले उनलाई अभियनको यो उच्च स्थान प्राप्त भयो ।

शर्मालाई अहिलेसम्म आफूले भूमिका निभाएकामध्ये ‘वासुदेव’ चलचित्रको याद आउँछ । वासुदेवमा बुढो मान्छेको भूमिकामा थिए । तर, उनको वास्तविक उमेर २४/२५ वर्ष मात्रै थियो ।

तुलनात्क रूपमा अन्य चलचित्रबाट वासुदेवबाट थुप्रै सम्मान पाए उनले ।

नाटक र चलचित्रमा अभिनय गर्दाको फरक

रंगमञ्च र चलचित्रको अभिनयमा खासै फरक पाउँदैनन् उनी । अभिनय त अभिनय नै हो । तर, माध्यम मात्रै फरक भएको उनको बुझाइ छ ।

‘चलचित्रमा क्यामेराको फ्रेम र सीमाभित्र बस्नुपर्छ । क्यामेराले दिएको परिधिभित्र पात्रको अभिव्यक्ति दिनुपर्छ’, उनी भन्छन्, ‘नाटक अभिनय गर्दा स्वतन्त्र हुन्छ । नाटकको क्षेत्र फराकिलो हुन्छ । एक पटक बिग्रियो भने पुनः गर्न पाइन्छ । नाटकमा त्यस्तो मौका हुँदैन ।’

नाटकमा प्रत्यक्ष रूपमा अभिनय र अभिव्यक्ति दिनुपर्छ । त्यसैले शर्मालाई चलचित्रमा अभिनय गर्न सहज लाग्छ ।

‘नाटकमा जीवित रूपमा क्रियात्मक अभिव्यक्ति दिनुपर्छ । स्टेजमा आफ्नो चरित्र दर्शकको प्रत्यक्ष प्रतिक्रिया पाइन्छ । चलचित्र कस्तो भयो भन्ने खुलदुली रिलिज भएपछि मात्रै थाहा हुन्छ’, शर्माले थपे ।

‘चलचित्रको गुणात्मक विकास हुन सकेन’

जीवन समयको प्रभावसँगै धेरै परिवर्तन आउने उनको मान्यता छ । नेपाली नाटक र चलचित्रमा थुप्रै परिवर्तन भइरहेको देख्छन् उनी ।

उनले पछिल्लो समयमा बनेका नेपाली चलचित्रमा विषयगत अभिव्यक्ति र प्राविधक रूपमा फरक पाए पनि गुणस्तरमा भने खासै ठूलो परिवर्तन भएको देखेका छैनन् । कलाकारले गर्ने भन्दा पनि दर्शक र समालोचहरूले मूल्यांकन गर्ने ठान्छन् उनी । पछिल्लो समय थिएटर सक्रिय भएकोमा भने शर्मा खुशी छन् ।

‘पछिल्लो समय कुशल क्षमता भएका कलाकाहरू आउनुभएको छ । यो नेपाली रंगमञ्च र चलचित्रका लागि खुशीको कुरा हो’, उनले भने ।

कलाकार भएपछि समयअनुसार आफूलाई समाहित गर्न सक्नुपर्छ भन्ने उनको मान्यता छ ।

आफ्नो क्षमतालाई प्रस्तुतिलाई अब्बल रूपमा पस्कन सकिए मात्र कलाकारिताको सागरमा पौडिन सकिन्छ । यो निकै सजिलो क्षेत्र हो ।

रियल र रिलमा उस्तै !

शर्मालाई रियल र रिल लाइफ छुट्याउनु गाह्रो भएको छ । ‘कलाकारले चलचित्रको पर्दामा गर्ने भूमिका जस्तो व्यवहार त्यस्तै हुँदो रहेछ,’ उनी भन्छन्, ‘रियल र रिल लाइफको फरक छुट्याउन गाह्रो हुँदो रहेछ ।’

रियल लाइफबाट रिलमा आउन अर्काे अभिनय गर्नुपर्ने उनी बताउँछन् । जीवनको यात्रामा अभिनय गरेरै बितेपछि वास्तविक जीवनमा त्यसको प्रभाव पर्नु स्वाभाविक ठान्छन् उनी ।

शर्माले अभियन यात्रामा थुप्रै दुःखहरूसँग भिडेका छन् । सुखको अनुभूति पनि लिएका छन् । ‘जीवनमा धेरै उतारचढाव र दुःखहरूसँगै भिड्दै आएको छु । संघर्ष नै जीवन होजस्तो लाग्छ’, उनी हाँस्दै भन्छन्, ‘मेरो अचम्मको बानी छ । तमाम समस्याहरू आए पनि रूनभन्दा मुस्कुराउन जानेको छु ।’

‘सफलता प्राप्त गर्न मेहनत अपरिहार्य चाहिन्छ । आफूलाई विश्वास र समर्पण नै कलाकारिता हो’ भन्ने उनको बुझाइ छ । ‘यो क्षेत्र कसैको सोर्स–फोर्स लाग्दैन । आफूसँग भएको प्रतिभा, प्रतिवद्धता, इमानदारिता र ज्ञानले आफूलाई स्थापित गर्न सकिन्छ’, उनले भने ।

अभिनयसँगै सांस्कृतिक संस्थानको महाप्रबन्धकसम्म

शर्माले २०५३ सालदेखि २०६३ सालसम्म अर्थात् १० वर्षसम्म सांस्कृतिक संस्थानमा महाप्रबन्धकका रूपमा सेवा प्रदान गरे । २०६४ देखि २०६६ सालको अन्त्यसम्म नेपाल प्रज्ञाप्रतिष्ठानको सचिवको रूपमा प्रशासनिक सेवा गरेका उनी २०३० सालदेखि प्रतिष्ठानकै नाटककार तथा नाटक निर्देशक हुँदै प्रशासन प्रमुखको रूपमा काम गरी सेवानिवृत्त भएका हुन् ।

थुपै नाटक, संंगीत तथा चलचित्रसम्बन्धी प्रतियोगिताहरूमा निर्णायकको जिम्मेवारी पूरा गर्दै आएका छन् उनी । उनले आमाको सपना, जीवन बीमा, अन्धाको पनि आँखा खुलेको हुन्छ, अन्तरद्वन्द्व, पृथ्वीनारायण शाह, एक सीमा यही टुंगिन्छ, मानिस र मुकुण्डो, जब घाम लाग्छ, पुरानो घर, गंगालालको चिता, समाजका नाइकेलगायत ५ दर्जनजति नाटकमा आफ्नो उत्कृष्ट अभिनय क्षमता प्रस्तुत गरेका छन् ।

त्यसैगरी, जब घाम लाग्छ, अनि सपना ब्यूँझन्छ, पहाड चिच्याइरहेछ, सन्त्रास र जिन्दगी, नेपाल भाषाका कुलां चकनितिनी, किसी न्याइम्ह मदनमान, किपालु लुना च्वम्ह मनुलगायत ३ दर्जन नाटकको निर्देशन गरे ।

वासुदेव चलचित्रबाट आफूलाई अब्बल अभिनेताका रूपमा प्रमाणित गरेका उनले सिन्दुर, बदलिँदो आकाश, माया–प्रीति, कर्जा, प्रेमपिण्ड, चेलिबेटी, प्रियसी, सन्तान थरीथरीका, मोहनी, यो मायाको सागर, चट्याङ, ज्वाला, धनपतिलगायत दर्जनौं अभिनय गरे ।

अहिले एभरेस्ट फिल्म कलेजमा अभिनय पढाउँदै आएका छन् शर्मा । अभिनयकर्मबाटै विभिन्न अवार्डका साथमा गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट, इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, सर्वनाम पुरस्कार, प्रज्ञाप्रतिष्ठान दीर्घ सेवा पदक, डबली पुरस्कार, बालकृष्ण सम सम्मान, सांस्कृतिक संस्थान सम्मान, राष्ट्रिय प्रतिभा पुरस्कारलगायतका मान पदवीबाट विभूषित तथा सम्मानित भएका शर्मा अझै नेपाली कलाजगतको उन्नयनमा सक्रिय छन् ।