आत्महत्या गर्न हिँडेकी राधाको ‘विद्रोह गाथा’
राधा पौडेलले ७ वर्षकी हुँदा आमाको शरीरबाट अनवरत रगत बगेको देखिन् । सोधिन्, ‘के भयो आमा ?’ आमाले भनिन्, ‘पछि तैंले पनि यस्तै भोग्नुपर्छ ।’
आमाको जवाफले राधा स्तब्ध भइन् ।
पछि समाजका अग्रज भनिनेहरूले भनेको सुनिन्, ‘अघिल्लो जुनीमा पाप गर्नेहरू छोरी भएर जन्मेका हुन् । छोरो नजन्माउने आमा नर्कमा जानुपर्छ ।’
यस्ता कुरा सुन्दा झस्किन्थिन् उनी ।
उनका दिदीहरूलाई महिनावारी हुँदा गोठमा राखियो । पछि पाप पखाल्न भन्दै ऋषिपञ्चमीमा पूजा गर्न लगाइयो । पूजामा पुरोहितले दिदीहरूलाई अपमान गरेको देखिन् । अनि, उनलाई छोरी हुनुप्रति पीडाबोध भयो ।
भगवानसँग भाकल गर्न थालिन्, ‘हे प्रभु ! मलाई छोरा बनाइदेऊ’ । तर उनको आर्तनाद कसले सुनिदिने ?
छोरी भएकै कारण अति सास्ती खेप्नुपरेपछि उनलाई जीवनदेखि दिक्दारी लाग्यो । बाँच्नु वाहियात लाग्यो । अर्को जुनीमा छोरा हुने आश गर्दै राधा आत्महत्या गर्ने निष्कर्षमा पुगिन् ।
९ वर्षकी हुँदा राधाले आत्महत्याको प्रयास गरिन् । आत्महत्या गर्ने उपयुक्त ठाउँको खोजीमा घर छाडिन् । मर्ने ठाउँको खोजीमा चितवनको घनाघोर जंगलमा कति हिँडिन्, कहाँसम्म पुगिन् ? उनी आफैंलाई पत्तो छैन ।
‘मर्ने कसरी ?’ भन्नेसमेत थाहा नभएकी उनमा एक्कासि बाँचेरै केही गर्ने सोच पलायो । र, जुन बाटो हुँदै मर्नका लागि जंगल छिरेकी थिइन्, त्यही बाटो फर्किइन् । र, परिणामतः राधा पौडेल आज समाजका लागि उदाहरणीय व्यक्तित्व भएकी छिन् ।
उनी अहिले ८० प्रतिशत नेपाली महिलाको प्रतिनिधित्व गर्छिन् । आवाजविहीन महिलाको आवाज बनेकी छिन् । जुम्ली महिलाको लागि त उनी ‘आमा’ नै हुन् । मदन पुरस्कार विजेता साहित्यकार भएकी छिन् ।
हो, अनेक संघर्षपछि सफलताको शिखर चुम्न सफल राधाको जीवन भोगाइ निकै प्रेरक छ ।
०००
चितवनको मंगलपुरस्थित एक विपन्न परिवारमा जन्मिन् राधा । सानो घर थियो, एकखुट्टे भर्याङवाला । घरभित्रै घाँस उम्रन्थ्यो । स्थिति नाजुक थियो ।
बिहान बुबाले दूध बेचेर चामल नल्याए चुल्हो बल्दैनथ्यो । आमा मेलापर्ममै व्यस्त हुन्थिन् । कहिले मकैको च्याँख्ला त कहिले भोकै बसेर बाल्यकाल बिताइन् । मनपरेको कपडा लगाउने कुरा त धेरै परको, आङ ढाक्ने एकसरो कपडा लगाउन पनि धौधौ थियो ।
बाआमाले छोराको आशमा पाँच छोरी जन्माएछन् । त्यही मेसोमा काइँली छोरीका रूपमा जन्मिइन् राधा । राधापछि एउटी बहिनी र एउटा भाइ जन्मियो । भाइ ‘वान्टेड’ थियो । भाइ जन्मँदा घरमा खुशीको बहार छायो । राधा पनि खुशी नै भइन् । किनकि उनलाई लाग्यो, ‘अब आमाले नर्क जानुपर्ने छैन ।’
बाख्रा भैंसी साथी
उनको बाल्यकालको साथी भनेकै खसी–बाख्रा–भैंसी हुन्थे । उमेरअनुसारको काम गर्नुपर्ने । बाख्रा चराउने, भैंसीको रेखदेख गर्ने जिम्मा उनकै काँधमा थियो ।
कुखुरा नबास्दै उठ्नुपर्ने । उज्यालो नहुँदै स्कुलको होमवर्क सक्नुपर्ने । उज्यालो भएपछि घाँसदाउराको जोहो गरेर स्कुल जानुपर्ने । यसरी विषम परिस्थितिबीच नै उनले चितवनबाट २०४७ मा एसएलसी पास गरिन्, दोस्रो श्रेणीमा ।
पहिलोपटक महिनावारी हुँदा
उमेर बढ्दै थियो । शरीरका अंगहरू उमेरसँगै विकास हुने क्रममा थिए । उनी १४ वर्षको उमेरमा पहिलोपटक महिनावारी भइन् । दिदीजस्तै आफू पनि गोठमा बस्नुपर्ने डरले फेरि घर छाडिन् ।
भागेर दिदीको घरमा गइन् । दिदीले धेरै बेर केरकार गरेपछि आफू ‘मिन्स’ भएको सुनाइन् । अनि पाँचौं दिन भिनाजुले घर ल्याइदिए ।
सबैभन्दा पहिला भान्छामा गएर उनले सबै छोइन् । त्यसपछि उनलाई महिनावारी बार्न घरबाट फोर्स आएन । दिदीहरूको जस्तो गोठमा गएर बस्नु परेन । दिदीहरू नबोल्ने । तर, उनी हरकुराको प्रतिवाद गर्थिन् ।
चिच्याएर पढ्नुपर्ने
राधाकी आमालाई पढ्ने रहर । तिनताका महिलाले पढ्नु हुँदैन भनिन्थ्यो । मामाहरूले पढेको देख्दा आमालाई पढ्ने रहर लाग्थ्यो रे । अनि लुकीलुकी मामाहरूले पढेको आमाले सुन्ने गर्थिन् ।
आफूले पढ्न नपाए पनि छोरीहरूलाई जसरी पनि पढाउन चाहने राधाकी आमा । ‘पढेको कुरा अकाट्य हुन्छ । संसारको सबैभन्दा ठूलो पढाइ हो । श्रीमान पनि आफ्नो हुँदैन । तर पढेको कुरा आफ्नो हुन्छ,’ राधाकी आमा बारम्बार छोरीहरूलाई यसै भन्थिन् ।
कागजको सानो टुक्रा देखे पनि पोल्टामा राख्ने राधाकी आमा । बहुमूल्य रत्न लाग्ने । अनि छोरीहरू आएपछि देखाएर काम नलाग्ने भए मात्र फाल्ने । भन्थिन्, ‘आँखा छ, दृष्टि छैन । कालो अक्षर भैंसीबराबर ।’
यसर्थ छोरीहरूलाई चिच्याएर पढ्न लगाउँथिन् । उनीहरूले पढेको सुन्थे, बाआमा । बा पनि सानैमा टुहुरो भएकाले पढ्ने अवसर पाएनन् । त्यसैले आफ्ना छोराछोरीलाई पढाइमा कुनै कमी हुन दिएनन् ।
जब जुम्लाबारे सुनिन्
एक दिन राधाले बुबालाई सोधिन्, ‘बा हामी गरिब छौं है ?’
‘हामीभन्दा गरिब त जुम्लामा बस्छन् । ’
‘बा तिनीहरूसँग लाउने खाने पनि छैन ?’
‘पुग्दो छैन ।’
‘पढ्न नि पाउँदैनन् ?’
‘धेरैले पाउँदैनन् ।’
‘हामी जस्तै अध्याँरोमा बस्नुपर्ने हो ?’
‘हामीभन्दा पनि अध्याँरोमा बस्छन् ।’
एकछिनपछि बाले फेरि भने, ‘तिमीले धेरै पढेर जुम्लाका गरिबहरूको सेवा गर्नुपर्छ ।’
बाको कुराले राधामा बेग्लै किसिमको ऊर्जा पैदा भो ।
बा त्यतिबेलाका अञ्चलाधीशको भान्छेका रूपमा काम गर्ने रहेछन् । हाकिम जुम्ला गएको बेला उनी पनि सँगै गएका रहेछन् । त्यो बेला उनका बाले देखेका थिए, जुम्लाको चित्कार । त्यही कथा उनले छोरीलाई सुनाएका हुन् ।
जुम्लाको कथा सुनेपछि राधा सोच्न थालिन्, ‘जुम्ला कस्तो होला ? कहिले जाने होला ? कसरी जाने होला ?’
राधाको दिमागमा जुम्ला भरियो ।
एसएलसीपछि.......!
एसएलसीपछि उच्च शिक्षा पढ्ने भइन् । पढ्का लागि कि काठमाडौं आउनुपथ्र्यो, कि पोखरा ।
उनलाई फरेस्ट्री पढ्ने रहर थियो । तर, बाले पोखरा लगेर नर्सिङमा भर्ना गरिदिए । त्यति बेला उनलाई नर्सिङ पढेर के बनिन्छ ? भन्ने नै थाहा थिएन । जे होस्, उच्च शिक्षा पढ्ने गाउँकै पहिलो केटी थिइन् उनी ।
पढ्न लागेको खर्च सबै टिपेर राखिन् । नर्सिङ पढ्न २८ हजार रुपैयाँ खर्च भएछ ।
पहिलो कमाइको अनुभव
पढाइ सकिएपछि उनी भरतपुर हस्पिटलमा काम गर्न थालिन्, एनेस्थेटिक नर्सका रूपमा । १९ वर्षमा नै जागिरे भइन् । खर्चबाट बचत भएको पैसा घरमा दिन थालिन् । थोरै भए पनि घरमा पैसा देखिन थाल्यो ।
कामसँगै बीएड पनि पढ्न सुरू गरिन् ।
कामको सिलसिलामा एक दिन ७ वर्षकी बालिका बलात्कार भएको घटना देखिन् । आफ्नै काकाको छोराले गरेको बलात्कार । उनी बिक्षिप्त भइन् ।
अर्को केस थियो– ६० वर्षीया आमाको आङ खस्ने समस्या । अर्को समस्या, सुत्केरी ब्यथा लागेको बेला अत्यधिक रगत बगेको । यस्ता बिरामी देख्दा उनको मन कुँडियो । अस्पतालबाटै उनले थाहा पाइन्, बढ्दो महिला हिंसा र ज्यादती । उनले सहन सकिनन् । ज्यादतीविरुद्ध आवाज बुलन्द गर्न थालिन् ।
शहरी क्षेत्रका नारीको समेत दयनीय स्थिति देखेपछि राधालाई लाग्यो, ‘जुम्लाका नारीको स्थिति के होला ?’ त्यसपछि उनले समुदायमा गएर काम गर्ने निचोड निकालिन् । काठमाडौं आएर सामुदायिक स्वास्थ्य सेवामा स्नातक गरिन् । सँगै एमएडको पढाइ पनि पूरा गरिन् ।
अनि जुम्ला गइन्
काठमाडौंमा पढाइ सकेर जुम्ला जाने निष्कर्षमा पुगिन् । सुरक्षित मातृत्व कार्यक्रम गरिरहेको ‘डीएफआईडी’ नामक संस्थामा रोजगारीका लागि आवेदन दिइन् । नाम निस्कियो । र, कार्यक्रम संचालन भइरहेको जुम्लालाई कार्यक्षेत्र बनाइन् । २०५८ सालमा जुम्ला पुगिन्, सुरक्षित मातृत्व कार्यक्रम अधिकृत भएर ।
आफू सानै छँदा बाले वर्णन गरेको जुम्लाको दुःख आफ्नै आँखाले देखिन्– थोत्रा–झुम्रा लुगा लगाएका । नाकमा सिँगान कटकटिएका । भोकमरीको चपेटामा परेका मानिसहरू ।
गरिबी, भोकमरी, अशिक्षा, बेरोजगारी, महिला हिंसा, अनेक समस्याबाट गुज्रिएको जुम्लाको स्थितिले उनलाई गम्भीर बनायो । विगतमा आफूले भोगेको दुःख त फिक्का लाग्यो उनलाई ।
त्यसपछि निरन्तर जुम्लाका नागरिकको सेवामा खटिइन् । जुम्ला बस्दाका उनका अनुभव रोचकसँगै डरलाग्दा छन् ।
बोनस जिन्दगी !
देश चरम द्वन्द्वको चपेटामा थियो । जुम्ला पनि आक्रान्त थियो । उनी जुम्ला पुग्दा कफ्र्यू लागेको थियो । त्यो समय कर्णाली जिल्ला जान ठूलै हिम्मत चाहिन्थ्यो । राज्य पक्ष र तत्कालीन माओवादी दुवैको घेरामा ज्यानको बाजी राख्नुपर्थ्यो । त्यो साहस उनले बटुलिन् जुम्लाको स्वास्थ्य सुधारका लागि ।
उनी कार्यक्षेत्रमै रहँदा जुम्ला सदरमुकाम खलंगामा तत्कालीन विद्रोही माओवादी र सरकारी सुरक्षाकर्मीबीच भिडन्त भयो, २०५९ सालमा । जुन दिन कहिल्यै बिर्सन सक्दिनन् राधा ।
कोठामा रातिको खाना खाँदै थिइन् । एक्कासि ठूलो आवाजमा फायरिङ भयो । बम र बन्दुक पड्केको आवाज आयो । धूवाँको मुस्लो कोठामै छिर्यो । सँगैका घर जले । ‘अब बाचिन्न’ भन्नेमा पुगिन् उनी । धन्न कोठा ढुंगाले घेरेको भएकाले गोलीले छेड्न सकेन । र, बाँचिन् ।
भोलिपल्ट,
रातभरको भिडन्तपछि सन्नाटा छाएको बिहान । अघिल्लो दिनसम्म सँगै काम गरेका सीडीओ र डीएसपीसहितको टोली मारिए । माओवादीका कति मारिए, थाहा छैन । खलंगा रक्ताम्य थियो । तर, उनले ‘बोनस जिन्दगी’ पाएकी थिइन् ।
त्यसपछि राधा काठमाडौंहुँदै चितवन गइन् । बा–आमा भेटिन् । छोरीले ‘बोनस जिन्दगी’ पाएकोमा घरमा खुशी छायो ।
फेरि फर्किइन् जुम्ला । ध्वस्त भएको खलंगामा पुग्ने उनी पहिले कर्मचारी थिइन् । बाँचेका सबैले खलंगा छोडेका थिए । बोनसको जिन्दगी जुम्लामा नै काम गर्ने भनेर उनीले बाटो तताइन् ।
जुम्लामा द्वन्द्वको घाउ आलै थियो । द्वन्द्वले आक्रान्त कर्णालीवासीसँग साक्षात्कार गर्दै काम गरिन् । सबै कार्यालय विस्तारै खडा गर्दै आफ्नो कामलाई निरन्तरता दिइन् ।
जुम्लामा हस्पिटल, ब्लड बैंकसमेत खोल्न सफल भइन् । देश शान्ति प्रक्रियामा आएपछि उनी जुम्लाको मात्र होइन, विश्वका महिलाको हकहितबारे बोल्न थालिन् । काम गर्न थालिन् । जुम्ला त उनको मुटुमै छँदैछ ।
आमालाई दागबत्ती दिँदा...
राधाकी आमा दमको बिरामी । उनी कामका लागि जुम्लामा हुन्थिन् । बाले आमाको औषधि उपचार गर्दिए हुन्थ्योजस्तो लाग्थ्यो । तर, पैसा नभएर आमाको उपचार प्रभावित भइरहेको थियो ।
एक दिन उनले साथीको नाममा बुबालाई चिट्ठी लेखेर ‘जग्गा बेचेर भए पनि आमाको उपचार गरौं’ भनिन् । उपचारको प्रयास त भयो, तर बचाउन सकिएन । ११ वर्षअघि उनकी आमाले संसार छोडिन् ।
राधाले नै आमाको दागबत्ती दिइन् ।
पुरोहितले नमान्दा नमान्दै उनले आमालाई दागबत्ती दिएकी हुन् । ‘छोरीले दागबत्ती दिनु हुँदैन’ भन्ने मान्यता भत्काइदिइन् राधाले । १३ दिन भाइसँगै बसेर आमाको काजकिरिया गरिन् ।
सामाजिक आन्दोलन
सानै हुँदा महिला र पुरुषबीचको विभेद, महिला हिंसा, वर्ग लिङ्ग, जात, क्षेत्रका विषयमा हुने विभेदले उनलाई विद्रोही बनाएको थियो । बाआमाबीच हुने विभेदले नै उनलाई सोच्न बाध्य बनाउँथ्यो । यस्ता अनेक विभेदले नै उनलाई सामाजिक काम गर्न प्रेरित गरेको हो ।
एक दिन श्राद्धमा पण्डित परिवारले माथि बसेर खाना खाए । उनलाई ढोकानेर राखेर खाना दिए । घरमा आएर आमालाई ‘किन त्यस्तो गरेको पण्डितको घरमा ?’ भनेर सोधिन् । आमाले ‘पण्डित माथिल्लो जातको हो । हामी तल्लो । बिहे पनि चल्दैन ।’ भनिन् । त्यो बेला उनले थाहा पाइन्– जातका आधारमा हुने सामाजिक विभेद ।
पण्डितको व्यवहारले चिढिएकी राधा एक दलित साथीको घरमा गइन् । सेलरोटी पकाएको देखिन् । रोटी खाएर विद्रोह गरिन् । अनि सोचिन्, ‘बाहुनबाहुनमै विभेद छ । दलितको के कुरा ?’
त्यतिबेलादेखि नै उनमा विभेदविरुद्ध लड्ने प्रेरणा मिलेको थियो । जुन अझै जारी छ । उनी भन्छिन्, ‘हामीले गोरेटो मात्रै बनाएका हौं, अझै धेरै गर्न बाँकी छ ।’
मर्यादित महिनावारी अभियान
महिला हिंसाको मूल जरो नै महिनावारी रहेको उनको बुझाइ छ । ‘महिनावारी सृष्टिका लागि हो । तर, यही रगतलाई अशुद्ध भनिन्छ । छँन हुँदैन भनिन्छ । त्यही रगतबाट छोरा जन्मिने हो । ऊ शुद्ध हुने । अनि रगत अशुद्ध कसरी हुन्छ ?’ यस्ता प्रश्नले उनलाई सताइरहन्थ्यो ।
तसर्थ, महिनावारीका कारण महिलामाथि हुने हिंसा रोक्न ‘मर्यादित महिनावारी अभियान’ सुरू गरेकी छन् । र यसलाई विश्वभर फैलाउने उनको उद्देश्य छ ।
‘छाउगोठ भत्काउँदैमा समस्या समाधान हुँदैन । विश्वभर आन्दोलन आवश्यक छ,’ उनले भनिन्, ‘त्यसैले छाउपडीको देश होइन, मर्यादित महिनावारीको देश बनाउने अभियानमा हिँडेकी छु ।’ अहिले ‘दक्षिणी गोलार्द्धीय मर्यादित महिनावारी अभियान’ को अन्तर्राष्ट्रिय सम्मेलन आगामी जेठमा गर्न उनी खटिएकी छिन् ।
त्यस्तै, ‘न्यायका लागि महिला मञ्च’ र ‘राधा पौडेल फाउन्डेसन’ले चितवनमा प्याड उत्पादनसमेत सुरू गरेको छ । विभिन्न जिल्लामा प्याडको प्रयोग र प्याड बनाउन ट्रेनिङ पनि दिने गरेकी छिन् उनले ।
अनि साहित्य
राधा आफूलाई साहित्यकार भन्न रुचाउँदिनन् । तर, अहिलेसम्म चारवटा कृति लेखिसकेकी छिन् । खलंगामा हमला, सेताफूल, मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी, अपवित्र रगत उनका कृति हुन् । त्यस्तै,
भूकम्पसम्बन्धी अनुभव पुस्तक पनि लेखेकी छिन् । २०२० सालमा अमेरिकाबाट महिनावारीसम्बन्धी किताब निस्कँदै छ । त्यसमा राधा पनि सहभागी छिन् ।
उनले लेखेको ‘खलङ्गामा हमला’ पुस्तकले मदन पुरस्कारसमेत जितेको छ ।
एकपछि अर्को सम्मान
निरन्तरको सामाजिक सक्रियताका कारण सरकारले ‘युवा प्रतिभा पुरस्कार–२०७०’ बाट सम्मान गरेको छ । सन् २०१२ मा अमेरिकाको युनिभर्सिटी अफ स्यानडियागोले ‘वुमन पिसमेकर’बाट उनलाई सम्मान गरेको छ । त्यस्तै, यूनडीपीले पनि ‘एन पिस अवार्ड’ बाट सम्मान गरेको छ ।
०००
समाजसेवामा सक्रिय राधाले सेवा गर्दागर्दै बिहे गर्न भुलेकी छिन् । ४६औं वसन्तमा यात्रारत राधाको जीवन सरल छ । सार्वजनिक यातायात चढ्छिन् । सेकेन्ड ह्यान्ड कपडा लगाउँछिन् ।
उनको जीवनशैली, साहस र संघर्षलाई सलाम !