आइतबार असोज १२, २०७६/ Sunday 09-29-19

‘नाइट मदर’मा सुसाइड संवाद

सामान्यतः दुई जनाबीच कस्ता गफ हुन्छन् ? सन्चो, बिसन्चो, मायाप्रेम, विछोड, दुःख वा यस्तै केही । तर, कथा घेराको प्रस्तुति रहेको ‘नाइट मदर’ले पृथक् विषयमा गफ गर्छ – सुसाइड । अर्थात् आत्महत्या ।

यो विषय आफैंमा भने पृथक् होइन । यो सामान्य र बहस हुन अत्यावश्यक विषय हो । तर, हाम्रो संकुचित समाजमा यस विषयमा खुलेर गफिनुचाहिँ पृथक् हो । हाम्रो समाजमा आत्महत्या गोप्य र अमुक विषय हो । तर, आत्महत्या किन गर्ने वा किन नगर्ने भन्ने विषयमा तार्किक निष्कर्ष आवश्यक छ । यद्यपि यस विषयमा गफ गर्दा आत्महत्यालाई प्रोत्साहन गरिएको अपव्याख्या हुन सक्छ ।

त्यसैले निर्देशक सुदाम सीकेलाई यो नाटक निर्देशन गर्ने निर्णय गर्न पक्कै सहज भएन । आत्महत्या जटिल र संवेदनशील विषय हो । हरेक शब्द भड्किलो हुन सक्छ भने हरेक वाक्यले व्यक्तिपिच्छे फरकफरक प्रभाव पार्न सक्छ । आत्महत्याको प्रसंगले कसैले निरुत्साहित गर्न सक्छ भने कसैलाई प्रोत्साहन पनि हुन सक्छ । निर्देशक सुदाम यो विषयमा सजग देखिन्छन् । उनले कुशलतापूर्वक नाटकको अपव्याख्या हुन दिएका छैनन् ।

नाटकको अपव्याख्या हुन नदिनुमा नाटककार मार्सा नोर्मनको हात बढी छ । उनले सन् १९८१ मा लेखेको यो नाटक १९८३ मा अमेरिकास्थित ब्रोडवे थिएटरमा लगातार एक वर्ष मञ्चन भएको थियो । नाटकमा केवल दुई पात्र छन् – वृद्ध आमा र डिभोर्सी छोरी । ८० को दशकमा दुई महिला पात्रले आत्महत्याका बारेमा विमर्श गर्नु चानचुने कुरा थिएन । त्यसैले पनि नोर्मन यो नाटकका लागि १९८३ मा पुलिट्जर पुरस्कार जित्न सफल भइन् ।

 

 

 

छोरी दीपशिखाको विवाहमा प्रेम थिएन, त्यसैले डिभोर्स भएपछि उनी आमाको घरमा बस्दै आएकी छिन् । उनलाई छारे रोगको पनि समस्या छ । उनलाई बारम्बार त्यसले छोपिरहन्छ । मानसिक समस्याका कारण उनी जागिरमा पनि टिक्न सक्दिनन् । उनले यसअघिका दुईवटै जागिर छोटो समयमै छोडेकी थिइन् । भएको एउटा छोरो पनि दुव्र्यसनीमा फसेर चोरी गर्दै हिँड्छ । कहाँ छ, के गर्दै छ, केही थाहा छैन ।

उनी पहिल्यैदेखि मानसिक तनावमा हुन्छिन् । १० वर्षदेखि डिप्रेसनको शिकार भएकी दीपशिखालाई आत्महत्याको निर्णय गरेपछि भने आनन्द महसुस भएको हुन्छ । उनका सबै समस्याको एकमुष्ट समाधान भएजस्तो । उनलाई आत्महत्या गर्ने हतार पनि छैन । उनी आत्महत्यालाई समस्याबाट उम्किने बाटोभन्दा पनि समस्या समाधानको अचुक विकल्पका रूपमा देख्छिन् । एक्लोपन, डिप्रेसन, बेरोजगारीलगायत समस्याका कारण उनी आफू बाँच्नुको तुक पनि देख्दिनन् ।

विधवा आमा ७० वर्ष पुग्न लागिन् । आफैंले खोजिदिएको केटासँग छोरीको बिहे असफल भएपछि उनले छोरीलाई आफूसँगै बस्न बोलाइन् । उमेर ढल्केर मृत्युनजिक पुगिसक्दा पनि उनलाई मृत्युदेखि डर लाग्छ । त्यसैले छोरीले सँगै बसेर हेरचाह गरिदिए छिट्टै मर्नु नपर्ने उनको सोचाइ छ । सानै उमेरमा बिहे भएकी आमाको पनि प्रेमविहीन वैवाहिक सम्बन्ध थियो । तर, मृत्युदेखि डर लाग्ने हुनाले उनी नियतिसँग आत्मसर्मपण गरेर बाँचिरहेकी हुन्छिन् ।

तस्बिर ः कथा घेरा

बैठक कोठा र किचेनको सेटअपबाट नाटक सुरु हुन्छ । आमाले भान्सामा सकिएका सामान किन्न छोरीलाई टिपोट गराउँदै हुन्छिन् । छोरीले बाबुको पुरानो पेस्तोलको खोजी गर्छिन् । आफू बस्तीबाट टाढा बस्ने भएकाले अपराधीहरू आफ्नो घरसम्म नआउने भन्दै सुरक्षाको चिन्ता नगर्न आमाले सुझाउँछिन् ।

तर, छोरीले सहज रूपमा सुरक्षाका लागि नभएर आत्महत्या गर्न बन्दुक खोजेको बताउँछिन् । तर, भनाइको सहजता देखेर आमाले विश्वास गर्दिनन् । उनलाई छोरीले मजाक गरिरहेको जस्तो लाग्छ ।

जब छोरीले भोलिबाट आफू हेरचाह गर्न उपलब्ध नहुने भन्दै केके सामान कहाँ राखेको छ, कुन सामान सकिँदा कोसँग मगाउनेलगायतका कुरा सिकाउन थाल्छिन्, उनी झसंग हुन्छिन् । त्यसपछि छोरी आफ्नो आत्महत्या किन आवश्यक छ भनेर आमालाई सम्झाउन थाल्छिन् भने आमा छोरीलाई बाँच्ने विभिन्न बहाना र लोभ देखाउन थाल्छिन् । त्यसपछि सुरु हुन्छ ‘सुसाइड संवाद’ ।

नाटकले आत्महत्याको एउटा सटिक कारण नहुने र आत्महत्या नै एक मात्र विकल्प नभएको भनेर वकालत गर्छ । व्यक्तिगत सम्बन्ध, असफल प्रेम, रोग, एक्लोपन, बेरोजगारी, अन्तर्मुखी स्वभावको विकास, डिप्रेसनलगायत छुट्टाछुट्टै मनोभावलाई एकमुष्ट सम्बोधन गर्नुपर्दा मानिस आत्महत्याको बाटोमा डोरिएको देखाउँछ । चलचित्रमा जस्तो जीवनमा एउटा ‘इन्साइटिङ इन्सिडेन्ट’ हुँदैन, जसलाई मियो बनाएर कथा अघि बढोस् । जीवन धेरै घटना र परिघटनाको समायोजन हो । जीवनमा लिइने निर्णय यिनै घटनाका परिणाम । त्यसैले किन आत्महत्या गर्ने भन्ने प्रश्नको सटिक जवाफ हुँदैन ।

त्यस्तै, किन आत्महत्या नगर्ने भन्ने प्रश्नको पनि सटिक उत्तर हुँदैन । जसरी जीवनका नकारात्मक मनोभावनाले सामूहिक रूपमा आत्महत्यातर्फ अग्रसर बनाउँछ, त्यसरी नै सकारात्मक अनुभवले सामूहिक रूपमा थप बाँच्ने ऊर्जा दिन्छन् । यसबारे राम्रो प्रस्तुति छ, जसले नाटकलाई सशक्त बनाएको छ ।

छोरी आत्महत्या गर्ने निर्णयको पक्षपोषण गरिरहँदा आमा ससाना कारण देखाएर बाँच्न प्रेरित गर्छिन् । जस्तै, कहिले उनी खीर मीठो हुने भएकाले त्यो खान भए पनि नमर्नुपर्ने भन्छिन् । कहिले छोरीलाई मन नपर्ने मान्छेलाई घरमा आउन निषेध गर्ने भन्दै उनलाई फकाउँछिन् । आत्महत्याजस्तो गहन विषयलाई एकदमै सूक्ष्मरूपमा सम्बोधन गरेको छ नाटकले । यसले कहिले दर्शकलाई हँसाउँछ त कहिले रुवाउँछ ।

निर्देशक सुदाम भन्छन्, ‘हरेक शोमा कोही न कोही दर्शक रुँदै हेरिरहेका हुन्छन् ।’ उनी यसलाई कसरी परिभाषित गर्ने भनेर अन्योलमा छन् । वास्तवमा यो निर्देशकीय सफलता हो । दर्शक पात्रसँगै हाँस्छ वा रुन्छ भने सर्जकका लागि त्योभन्दा ठूलो सन्तुष्टि, उपलब्धि र सफलता के होला र ?

हरेक मानिस व्यक्तिगत स्वार्थले निर्दिष्ट हुन्छ । छोरीले आत्महत्या रोज्नुको स्वार्थ आफ्ना समस्याको मुक्ति हो । उनी वृद्ध आमाले कसरी जीवन कटाऊलिन् भनेर चासो दिन्नन् । आमाका लागि एक हप्ताको सामान व्यवस्था गरेर उनी मर्न तयार छिन् । यस्तै, आमालाई पनि छोरी मर्नेभन्दा पनि आफू एक्लै हुने बढी पिर छ । उनी छोरीलाई आफू मरेपछि आत्महत्या गर्न सुझाउँछिन् । यसले समाजको सूक्ष्म चित्रण गर्छ ।

किन मर्ने र किन बाँच्ने विषयमा आमाछोरीबीच बहस हुँदा त्यसले कहिले द्वन्द्वको रूप लिन्छ भने कहिले आँसु बग्छ । यत्रो वर्ष सँगै बसेका आमाछोरी जति नजिक छन्, त्यति नै टाढा पनि । यो हाम्रो समाजको विडम्बना हो ।

प्रविधिमा निर्भरता बढ्दै जाँदा एकअर्काबीचको दूरी पनि बढ्दै गएको छ । आमालाई छोरी १० वर्षदेखि डिप्रेसनसँग जुधिरहेको थाहै हुँदैन । उनीहरूबीचको निकटता भान्सामै सीमित छ । भावनात्मक निकटता छैन । र, हाम्रो समाजले मनोरोगलाई बुझ्दैन । त्यसैले कसैले भन्दैन । यस्ता विविध पक्षलाई उजागर गर्छ नाटकले ।

तस्बिर ः कथा घेरा

समाज र परिवार थाहै नपाई आत्महत्याको कारक बनिरहेका हुन्छन् । तर, उनीहरू आत्महत्या रोज्नेको निरीहता औंल्याउँदै आफ्नो असंवेदनशिलता लुकाउन खोज्छन् । मानसिक समस्याका बारेमा गफ हुनुपर्छ । कोही हाँसेर बोलिरहेको छ भन्दैमा ऊ पूर्णतया ठीक छ भन्ने ग्यारेन्टी हुँदैन ।

केही समयपहिले एउटा समाचार आएको थियो । एक जना व्यक्ति पारिवारिक भेटघाटमा नाच्दानाच्दै एक्कासि भित्र गए र झुण्डिएर आत्महत्या गरे । परिवारका कसैलाई न अनुमान थियो, न थाहा नै । त्यसैले, परिवार र पारिवारिक वातावरण समझदार हुनुपर्छ । मनमा लागेका कुरा नहिच्किचाई भन्ने अवस्था हुनुपर्छ । नाटक हेर्दा पारिवारिक वातावरणले आत्महत्यातर्फ कसरी डो¥याउँछ भनेर बुझ्न सकिन्छ ।

कथा र प्रस्तुतिका अलावा नाटक ध्वनि, सेट र लाइटमा पनि अब्बल छ । आकांक्षा र लुनिभा तुलाधरको अभिनयमा खोट लगाउने ठाउँ छैन । लाइटिङ नाटकभर एकदम अब्बल छ तर अन्तिम ‘सिन’मा भने थोरै खल्लो बनाउँछ । मृत्युजस्तो ‘डार्क’ मुद्दा चलिरहँदा स्टेज एक्कासि धपक्कै उज्यालो हुन्छ । नाटकको मोमेन्टम, दर्शकको भावनात्मक अवस्था र स्टेजको लाइटिङबीच ‘कन्ट्रास्ट’ नमिल्दा अन्तिम गाँसमा ढुंगा लागेजस्तो हुन्छ ।

९९ प्रतिशत संवाद अंग्रेजीमा भएको नाटकमा दुवै कलाकारको सामान्य लवजले आमदर्शकलाई पनि बुझ्न सजिलो हुन्छ । अंग्रेजी भाषामै नाटक बनाउने कथा घेराको निर्णय एकदम सही सावित भएको छ । शायद नेपालीमा ती संवाद एकदमै भद्दा सुनिन्थे ।

टेकुस्थित कौशी थिएटरमा असोज १८ गतेसम्म चल्ने ‘नाइट मदर’ एकपटक सबैले हेर्नैपर्ने नाटक हो । मानसिक स्वास्थ्य, डिप्रेसन, आत्महत्याजस्ता विषय अब गोप्य र अमुक होइन बहसको विषय बन्नुपर्छ भन्ने बुझ्न पनि नाटक हेर्नु आवश्यक छ । मानसिक समस्या जीवनको अन्त्य होइन, न त जीवन अन्त्य गर्नैपर्ने कारण नै । मानसिक स्वास्थ्य प्रतिकूल हुनु स्वाभाविक हो । आत्महत्या र मानसिक स्वास्थ्यका बारेमा बहस छेड्दै ‘नाइट मदर’ले भन्छ – ‘इट इज ओके टु बि नट ओके’ !