शुक्रबार असोज १०, २०७६/ Friday 09-27-19

वा ! हाइकिङ

धूलो–धूवाँले उकुसमुकुस । घरहरूको घना र अव्यवस्थित जंगल । उस्तै ब्यस्त दैनिकी । यही हो, काठमाडौंको खास विशेषता । तर, काठमाडौंआसपासमै यति सुन्दर र आकर्षक गन्तव्य छन्, जहाँ एकपटक पुगेपछि फेरिफेरि पनि गइरहुँजस्तो लाग्छ ।

दौडधूपपूर्ण दैनिकीबाट आजित भएका काठमाडौंवासीलाई हरिया जंगल नियाल्दै, चराचुरुङ्गीसँग गीत गाउँदै हिँड्ने थुप्रै पदमार्ग निर्माण भएका छन्, जसलाई ‘हाइकिङ ट्रेल’ भनिन्छ ।
के हो हाइकिङ ?

हाइकिङ अर्थात् एकदिने पैदल यात्रा । प्रकृतिसँग रमाउँदै गरिने यो यात्रालाई ‘डे टूर’ पनि भन्ने गरिन्छ । बिहान घरबाट निस्केर दिनभर रमाइलो गर्दै बासस्थान फर्कन सकिने यो यात्रामा शहरवासीका साथै विदेशी पर्यटकको पनि आकर्षण बढ्दो छ ।

काठमाडौं उपत्यकाआसपासमा पनि हाइकिङका लागि थुप्रै रूट छन् । ब्यस्त जीवनशैली र तनावबीच शरीर र मन दुवैलाई ‘रिफ्रेस’ गराउनका लागि हाइकिङ निकै प्रभावकारी बन्दै गएको छ ।

 

 

 

जनस्वास्थ्यका दृष्टिले पनि हाइकिङलाई निकै राम्रो मानिन्छ । साताको एक दिन हाइकिङ गर्दा शरीर स्वस्थ्य र तन्दुरुस्त हुन्छ । प्रकृतिप्रेमीसँगै प्रेमी प्रेमिकाका लागि हाइकिङ ट्रेल विशेष मानिन्छ ।
हाइकिङ गर्दा नयाँ ठाउँ, वनस्पति र जीवजन्तु अवलोकनसँगै जीवनशैलीबारे नजिकबाट बुझ्न सकिन्छ ।

वनपाखा, हिमशृंखला, सांस्कृतिक सम्पदा नियाल्दै काठमाडौं उपत्यकालाई फन्को मार्न सकिने थुप्रै हाइकिङ ट्रेलहरू छन् ।

हाइकिङ ट्रेलहरू

काठमाडौंका मुख्य हाइकिङ ट्रेलमध्ये एक हो– शिवपुरी जंगलको यात्रा । करिब ७ घण्टा पैदल हिँड्न सकियो यो रूटमा बूढानीलकण्ठ मन्दिर र नागी गुम्बा पर्दछन् । ५ सयभन्दा बढी प्रजातिका बोटबिरुवा र लाङटाङ हिमाल रेञ्ज हेर्दै गरिने यो रूटको पदयात्रालाई निकै राम्रो मानिन्छ ।

काठमाडौंको उत्तरमा पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको शिवपुरी डाँडामा पुग्ने तीनवटा ट्रेल छन् । घना जंगलमा उकालो यात्रा गर्दै शिवपुरी डाँडामा पुग्दा आँखासामु हिमशृंखलाको दृश्य आइपुग्छ ।

चरा अवलोकन र ध्यान तथा योगका लागि पनि नागार्जुन–शिवपुरी हाइकिङ रूट प्रसिद्ध छ । चम्पदादेवी हाइकिङ ट्रेल पनि निकै सुन्दर छ । उपत्यकाको दक्षिणपश्चिममा रहेको चम्पादेवी डाँडा काठमाडौं र मकवानपुर जिल्लाको सिमाना पनि हो । चोभारको टौदहबाट हाइकिङ शुरू गरेर दक्षिणकाली मन्दिरनजिकको पुरानो नेवार बस्ती फर्पिङ नियाल्दै त्यही ट्रेलबाट फर्कने गरिन्छ ।

चम्पादेवीबाट गौरीशंकर, लाङटाङ, अन्नपूर्णलगायतका हिमाली शृंखला देखिन्छ । कीर्तिपुरको मच्छेगाउँबाट पनि चम्पादेवी जाने रूट छ ।

चन्द्रगिरी, फूलचोकी, नगरकोट, साँखु–चाँगुनारायण, काभ्रेको नमोबुद्ध, लाँकुरीभञ्ज्याङ, सुन्दरीजल, तारकेश्वरलगायत क्षेत्रमा हाइकिङ ट्रेल सञ्चालन गरिएको छ ।

हाइकिङ अनुभूतिः हराउँदा पनि रमाइलो

केही समयअघि हाइकिङका लागि अवसर जुर्यो । साथीभाइ मिलेर हाइकिङका लागि लाग्यौं शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको जमाचो गुम्बातिर । साथी विक्रम श्रेष्ठ, शीतल तामाङ, दिनेश थापा, गणेश श्रेष्ठ, कमल घले, गणेश घले र मसहित सात जनाको टोली बिहान ८ बजे फूलबारी गेटबाट उकालो लाग्यो । त्यहीँदेखि शुरू भयो हाइकिङको मजा ।

घना जंगल । जंगलमा संगीतको धुनझैं चरा र कीराको आवाज । मन फुरुङ्ग छ । फोटो, भिडियो खिच्दै, गीत गुनगुनाउँदै अघि बढियो । झन्माथि पुग्यो झन् मजा । जब हिमाल देखियो, स्वर्गमै पुगेको आभास । आहा, क्या मज्जा !

नागार्जुनको अधिकतम उचाइ २ हजार १ सय २८ मिटर छ । झण्डै ९ किलोमिटरको हाइकिङ यात्रा तीन घण्टामा पूरा गर्न सकिन्छ । एकपछि अर्को हाइकर्सका टोलीहरू जमाचो गुम्बा पुग्दै थिए । जमाचो पुग्दा काठमाडौं खाल्डोको अस्तब्यस्तता भुलिन्छ ।

मौसम सफा नभए पनि काठमाडौं उपत्यका प्रष्ट देखिएको थियो । जमाचो गुम्बामा रहेको भ्यू टावरबाट केही बेर काठमाडौंलाई नियाल्दा बेग्लै ऊर्जा पैदा हुँदो रहेछ ।

झण्डै १ घण्टा जमाचो डाँडामा बितायौं । त्यसपछि ओरालो झर्यौं । जहाँबाट शुरू भएको हो हाइकिङ यात्रा, त्यहीँ पुग्नुपर्ने हो । जुन बाटो गएका हौं, त्यहीँबाट फर्किनुपर्ने हो । तर, हामीले सकडमार्ग प्रयोग गर्यौं । सँगै गएका एक साथीले सडकबाट पनि पुगिन्छ भनेपछि हामीले पाइला अगाडि बढायौं । झण्डै २ घण्टाको यात्रापछि साथीलाई सोध्यौं, ‘कति बेला पुग्छौं त ?’ उनी अकमकिए । उनले बाटो भुलेको भाव देखाए ।

घना जंगलमा हामी हरायौं । ४ घण्टा हिँड्दा पनि अन्तिम बिन्दु भेटिँदैन । यता न उता । फर्किने सम्भावना थिएन । सडकलाई नछोडी हामी अगाडि बढिनै रह्यौैं । ४ घण्टामा पूरा हुने हाइकिङ यात्रा हाम्रा लागि ८ घण्टा लाग्यो बाटो बिराउँदा । अन्ततः हामीले नागार्जुनको घना जगंललाई एक फन्का मारेछौं । सेलरोटी नै बनेछ हाम्रो रूट । रानीवन निस्किएपछि बस्ती भेटियो । भोक र प्यासले लखतरान थियौं ।

बस्ती देख्नेबित्तिकै खुशीको सीमा रहेन । एक घरमा छिरेर पानी माग्यौं । पानीले सुकेको आँत भिजायौं । अनि बारीमा फलेको नास्पाती टोक्दै माइक्रो पार्कतिर लाग्यौैं । साथी विक्रमको बाइक र कार्ड फूलबारी गेटमै राखेको थियो । बाइक लिन विक्रमसहितका साथी त्यता लागे । शीतल र म घरतर्फ । पहिलो हाइकिङमै हराउँदाको मज्जा नै बेग्लै ।

यदि तपाईं पनि हाइकिङ जाने सोचमा हुनुहुन्छ भने हाइकिङ रूट नछोड्नुहोस् । सकेसम्म एक्लै भन्दा ग्रुपमा हिँड्नुहोस् । आवश्यक सामान छुटाउनु हुँदैन । पानी, फलफूललगायतका सामान आवश्यक मात्रमा बोक्नुपर्छ । हिँड्नका लागि सहज हुने लुगा लगाउनुपर्छ । बिस्तारै हिँड्ने । दौडनु हुँदैन । मौसमको ख्याल गर्नुपर्छ । जथाभावपी फोहोर फ्याक्नु हुन्न । बिरामी पर्न सकिन्छ । प्राथमिक उपचारको सामग्री बोक्नुपर्छ ।

शहरको घच्चाघमासानबाट फुत्केर आनन्द लिनु छ भने, तपाईंले जुनकुनै हाइकिङ ट्रेल रोज्न सक्नुहुन्छ ।