शुक्रबार असोज १०, २०७६/ Friday 09-27-19

कालिञ्चोक केवलकारलाई ‘बेष्ट टुरिजम डेस्टिनेशन अवार्ड’

दोलखाको कालिञ्चोकमा सञ्चालित कालिञ्चोक केवलकारले ‘बेष्ट टुरिजम डेस्टिनेशन अवार्ड’ प्राप्त गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा पर्यटन व्यवसाय मार्फत देशलाई योगदान दिएका उत्कृष्ट कम्पनीमध्ये कालिञ्चोक केवलकारले सो अवार्ड पाएको हो ।

यो मुलुककै तेस्रो केवलकार हो । गत बर्षबाट सञ्चालनमा आएको कालिञ्चोक केवलकारबाट कालिञ्चोक भगवती मन्दिरसम्म जान सकिन्छ । धार्मिक र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण कालिञ्चोकमा बार्षिक हजारौ पर्यटक पुग्छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनवहादुर बुढाले केवलकारका सञ्चालक बालकृष्ण शिवाकोटीलाई अवार्ड हस्तान्तरण गरे ।

हवाई सेवा कम्पनीका रुपमा कतार एयरवेज, बढी विदेशी मुद्रा आर्जन गर्ने ट्राभल एजेन्सीका रुपमा फ्लाइट कनेक्सन डमेस्टिक प्रालिलाई पुरस्कृत गरिएको छ ।

 

 

 

होटल क्षेत्रबाट सोल्टी होटेल लिमिटेड र निजी क्षेत्रबाट अपांगता भएका व्यक्तिलाई सक्षम बनाई रोजगारी दिने द बेकरी क्याफे प्रालि सम्मानित भए ।

सामाजिक उत्तरदायित्व निर्वाह गरेवापत फिस्टेल लज पोखरा , निजी क्षेत्रको पर्यटन सम्बन्ध व्यवसायमा संलग्न निकाय तथा कम्पनीमध्ये धेरै राजस्व दाखिला गर्ने बुद्ध एयर, सामुदायिक होमस्टेतर्फ नाम्जेथुम्की सामुदायिक होमस्टे धनकुटा, पर्वतारोहण क्षेत्रबाट सेभेन समिट ट्रेक्स प्रालि सम्मानित भएका छन् ।