शुक्रबार असोज १०, २०७६/ Friday 09-27-19

भ्रमण वर्ष सकिनै लाग्दा गण्डकी प्रदेशका पर्यटनमन्त्री देशदौडाहामा

गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन भ्रमण वर्षमा पर्यटक बोलाउन देश दौडाहा अभियान सुरू गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० अघि गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ मनाउँदैछ । आन्तरिक पर्यटन वर्षमा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र २०२२ भित्रमा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य लिएको छ ।

सरकारले लिएको उक्त लक्ष्य पूरा गर्न करिब साढे तीन महिना मात्र बाँकी छ । यस अवधिमा १५ लाख पर्यटक भित्र्याउने र नेपाल सरकारको भ्रमण वर्ष २०२० लाई सघाउने उद्देश्यले प्रदेश सरकारले एक हप्ता देश दौडाहा अभियान चलाउने भएको छ ।

यस अभियानका क्रममा गण्डकी सरकारले अन्य प्रदेशको भ्रमण गरी सरोकारवाला र प्रदेश सरकारलाई निम्ता दिने योजना बनाएको छ । प्रदेश सरकारले भ्रमण वर्षको पहिलो अभियान पूर्वबाट सुरू गर्ने भएको छ ।

प्रदेश सरकारले आन्तरिक पर्यटन भ्रमण वर्षलाई सफल बनाउने भन्दै असोज ९ देखि १६ गतेसम्म देशका पूर्वी क्षेत्रमा प्रवर्द्धनात्मक अभियान लिएर जान लागेको हो । टोलीमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालसहित पर्यटन व्यवसायी, कर्मचारी, पत्रकार र कलाकारसहितको ५० जनाको टोली पूर्व जाने जनाइएको छ ।

 

 

 

भ्रमणको सुरूवातमा पर्यटन प्रवर्द्धन टोलीलाई प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले बिदाइ गर्नेछन् भने १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने जनाइएको छ ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले केही ढिलाइ भए पनि पर्यटनमा सकारात्मक माहौल सिर्जना गर्नका लागि प्रवर्द्धनात्मक गतिविधि गर्न अभियानमा जान लागिएको बताए ।

अभियानअन्तर्गत प्रदेश ५ को मणिग्राम, प्रदेश २ को वीरगञ्ज, प्रदेश १ को विराटनगर र प्रदेश ३ को काठमाडौंमा संघीय र प्रदेश सरकारबीच व्यावसायिक कार्यक्रम (जीटुजी), सरकार र व्यावसायिक प्रतिष्ठानबीचमा व्यापारिक सहकार्य (जीटुबी), व्यापारीबीचको अनुभाव साटसाट, सहकार्य (बीटुबी) लगायतका कार्यहरू हुने जनाइएको छ ।

बीटुबी कार्यक्रम भ्रमण रूटमा पर्ने पाल्पाको तानसेन, नवलपुरको अमलटारी, चितवनको भरतपुर, मकवानपुरको हेटौंडा, धनुषा जिल्लाको जनकपुरधाम, सुनसरीको धरान र झापाको बिर्तामोडमा हुनेछ ।

पर्यटक बोलाउन पूर्व जाने टोलीले गण्डकी प्रदेशमा आउने पर्यटकका लागि भनेर विशेष प्याकेज घोषणा गर्ने भएको छ । प्रवर्द्धनमा जान लागेको टोलीले पोखराका पर्यटकीय प्रोडक्टको छुटसहितको प्याकेज घोषणा गर्ने मन्त्री लम्सालले जानकारी दिए ।

उनका अनुसार होटलमा १५, रेस्टुरेन्टमा १०, साहसिक गतिविधिमा १०, यातायातमा १५, पदयात्रामा १० प्रतिशत छुट पनि दिइने उनले बताए । ‘हामीले आन्तरिक पर्यटकलाई प्रवर्द्धन गर्न यो अभियान थालेका हौं,’ उनले भने, ‘प्रदेशभित्रका ११ जिल्लाकै फरकफरक प्याकेज बनाएर आन्तरिक पाहुनालाई उपलब्ध गराउने योजना छ ।’ यो अभियान चलाउँदा झन्डै ३६ लाख रुपैयाँ खर्च हुने उनले बताए ।

गण्डकी प्रदेशमा आन्तरिक पाहुना आउन चाहे पनि कनेक्टिभिटी सारै नै कमजोर रहेको उनले बताए । ‘आन्तरिक हवाई सेवा निकै नै कमजोर छ । स्थलमार्ग पनि सुधार हुन सकेको छैन,’ उनले भने, ‘पूर्वाधार हुने र सहज आउजाउ हुने हो भने यस्ता अभियान स्वतः सफल हुन्छन् ।’ आन्तरिक पर्यटकको गतिविधि बढाउनकै लागि पोखरादेखि सिमरा र विराटनगरसम्म सिधा हवाई उडान संचालन गर्ने योजना पनि बनाएको मन्त्री लम्सालले जानकारी दिए ।

यसका अलावा गण्डकी प्रदेश सरकार आफैंले स्थानीय पत्रकारसँग भेटघाट कार्यक्रम गर्ने र प्रदेशभित्रका फोटो प्रदर्शनी गर्ने, सांस्कृतिक कार्यक्रम गीत र नाच प्रस्तुत गर्ने तथा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । फोटो प्रदर्शनीमार्फत प्रदेशको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, साहसिक पर्यटन गतिविधिका सुन्दर दृश्यहरूले प्रदेशको प्रचारप्रसारमा सहयोग पुर्याउने अपेक्षा सरकारले लिएको छ । आन्तरिक पर्यटन वर्षमा आधारशिला तय गर्न सरकारले पर्यटन समिति गठनदेखि पर्यटकीय क्षेत्रहरूको सूची प्रकाशन गर्ने र हरेक जिल्लामा पर्यटन समिति गठन गर्नेजस्ता कार्य गरिसकेको जनाएको छ ।

पोखराका पर्यटन व्यवसायीले ढिलो भए पनि प्रवर्द्धनात्मक अभियान सञ्चालन हुनु राम्रो भएको बताएका छन् । पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले भने, ‘केही नहुनुभन्दा यतिबेलाको अभियान पनि राम्रै हो । यसलाई सबै मिलेर सफल बनाउनुपर्छ ।’

चाडबाडको बेला परेकाले यतिखेर सबैभन्दा बढी आन्तरिक पाहुना घुम्न निस्कन्छन् । यही समय पारेर प्रवर्द्धनात्मक कार्यक्रम गर्दा यसको सकारात्मक प्रभाव देखिने भए पनि यसको वास्तविक परिणाम आगामी वर्ष मात्र देखिने उनको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले प्रदेश सरकारले केही नगरेको अवस्थामा यत्तिको तयारीलाई पनि सकारात्मक मान्नुपर्ने बताए । ‘चाडबाडको बेला भएकाले यसले केही सन्देश दिन सक्छ,’ उनले भने, ‘अभियानले आन्तरिक पाहुनालाई एकपटक पोखराको भ्रमण गर्ने इच्छा जागृत गराउनेछ ।’

नेपाल पर्यटन बोर्ड प्रादेशिक कार्यालय पोखरा र पर्यटन वर्ष २०१९÷ ०२२ को सचिवालयको संयुक्त आयोजनामा निजीक्षेत्रको सहभागितामा यो अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयका पर्यटन महाशाखा प्रमुख कीर्तन पौडेलले जानकारी दिए ।