शुक्रबार असोज १०, २०७६/ Friday 09-27-19

पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै सप्तरीको छिन्नमस्ता भगवती मन्दिर

पछिल्लो समय सप्तरीको छिन्नमस्ता भगवतीे मन्दिर पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित सो स्थानमा बिहानदेखि रातिसम्म भीड लागेको हुन्छ । नेपालीहरू मात्रै नभई भारतीयहरू पनि ठूलो संख्यामा त्यहाँ पूजा गर्न पुग्ने गर्छन् ।

राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठूलोपोखरीको उत्तरी डिलमा रहेको छिन्नमस्ता प्रमुख ५१ शक्तिपीठमध्ये एक हो । अन्य बेलामा समेत भीड लाग्ने यस मन्दिरमा बडा दशैंको समयमा ठूलो उत्सव नै हुने गरेको पूजारी महानन्द ठाकुरले वताए । उनका अनुसार यस मन्दिरमा भाकल पूरा भएपछि लड्डु र बोका चढाउने परम्परा छ ।

प्यागोडा शैलीमा निर्मित यो यस मन्दिरमा आसीन भगवतीलाई छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी र सखडा माता भनेर पूजा–अर्चना तथा भाकल गरिन्छ । सखडेश्वरीको मस्तक अर्थात् शीर नभएका कारण भक्तजनले यी भगवतीलाई छिन्नमस्ता तथा छिन्नमस्तिका भगवती भनेर सम्बोधन गरिने वरिष्ठ पत्रकार शिवहरि भट्टराईले बताए ।

ऐतिहासिक पक्ष

 

तत्कालीन राजा शक्रसिंह आफ्ना भाइ–भारदारको दबाबका कारण छोरा कुमार हरिसिंह देवलाई राजकाज सुम्पेर बाँकी जीवन बिताउन सप्तरीको सखडा क्षेत्रमा गएका थिए । त्यतिबेला सो क्षेत्र घना जंगलले भरिएको थियो । राजा शक्रसिंहलाई भगवतीले सपनामा आएर भनिन्, ‘तिमी जुन स्थानमा बसिरहेका छौ, त्यहाँ त्रिशूल गाडिएको भेटिनेछ र त्यहाँ अरू मूर्ति पनि छेउछाउमा पाउनेछौ । ती मूूर्तिहरूको पूजाआजा गरेर बस, तिम्रो भलो हुनेछ ।’

राजा शक्रसिंहले देवी भगवतीले सपनामा दिएको निर्देशनअनुसार त्रिशूल गाडिएको क्षेत्रमा माताको मूर्ति, जलाशय अर्थात् हालको शान्ति सागरको किनारमा मूर्तिहरू फेला पारेको किंवदन्ती छ । सोही स्थानमा भगवतीको मूर्ति स्थापना गरेर पूजाआजा गर्न थालेको छिन्नमस्ता सखडेश्वरीका महन्थ ठाकुरले वताए ।

बलि प्रदान गर्दा निस्केको रगतमा झिँगा नबस्ने, रगत लुगामा लागे पनि दाग नलाग्ने, पोखरीको पानीमा रगत मिसिँदा रातो नहुने, बलि प्रदान गर्ने नाममा राखिएका बोकालाई केही नहुने, बलिका लागि बोको किन्नुअघि कुकुर वा स्यालले टोकेको छ भने मन्दिर पुग्दा नपुग्दै बाटोमै मर्ने यस मन्दिरका विशेषाता भएकाे पुजारी ठाकुर बताउँछन् । उनका अनुसार बलि प्रदान गरेको खसीबाट निस्केको रगत सोही पोखरीमा नबगाएमा अनिष्ट हुने, जुठो वा अपवित्र पूजा सामग्री चढाउन नहुनेजस्ता जनविश्वास र आस्था छ ।

एघारौं शताब्दीको अन्त्यतिर भारतको कलकत्ताका शासक गयासुद्दिन तुगलकको मुसलमानी समूहले सप्तकोशी नदीको किनारको बाटो हुँदै सखडा पीठ पनि ध्वस्त गर्‍याे । मन्दिर ध्वस्त गर्ने क्रममा उनीहरूले त्यहाँका मूर्तिहरू तोडफोड गरी जलाशयमा फ्याँकिदिए । मन्दिरको मूर्ति तोडफोड गरेर अगाडि बढ्ने क्रममा सखडादेखि १५ किमि पश्चिम–उत्तरस्थित सप्तरी जिल्लाकै मानराजा गाविसको गढीका मूर्तिहरूसमेत तोडफोड गर्‍याे ।

सोही आक्रमणपछि सखडा क्षेत्र पुनः जंगलमा परिणत भएको अनुमान गरिन्छ । मन्दिरको पूर्वपट्टि घना झाडी थियो, जसलाई अहिले पंचमुखी नागबाटिका र केवला वन भनेर चिनिन्छ । यस स्थानमा समयसमयमा पंचमुखी नागदेवताले दर्शन दिने गरेको स्थानीय भक्तजनहरू बताउँछन् ।

मन्दिर र मूर्तिको ऐतिहासिक कुरा गर्दा करिब १ सय २५ वर्षअघि सखडाको भगवती मन्दिर भग्नाशेष अवस्थामा थियो । जसलाई स्थानीय बासिन्दा च्याखुरी नानीर चुनीलाल ठाकुरले सफा गरी भिक्षाटनबाट संकलित रकमबाट सानो मन्दिर निर्माण गरेका थिए । सो मन्दिर वि.सं. १९९० सालको भूकम्पमा फेरि भत्किन पुग्यो । र, त्यस बेलाका मन्दिरका पुजारी अनिरुद्ध ठाकुरले चन्दा संकलन गरी ग्रामीण समाजको सहयोगले टिनको छाना भएको मन्दिर बनाए ।

वि.स. २०२८ सालमा जीर्ण मन्दिरलाई तत्कालीन भारतीय रेलमन्त्री ललितनारायण मिश्रको सहयोगमा पक्की मन्दिर भवनका साथै तीनकोठे धर्मशाला पनि बनाइयो । त्यसपछि वि.सं. २०४४ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले भगवतीको दर्शनार्थ जाँदा ५ लाख रुपैयाँ चन्दा दिए । सो रकमबाट तत्कालीन सगरमाथा अञ्चलका अञ्चलाधीश सूर्यबहादुर सेन ओलीले भगवतीको प्यागोडा शैलीको भव्य र सुन्दर मन्दिरको निर्माण गराएका हुन् ।

मन्दिरभित्र मूल देवीको रूपमा भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ । उक्त मूर्तिको पाउतिर राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुंगामा कुँदिएको छ । मूल मूर्तिको देब्रेपट्टि दक्षिणकाली, महषमर्दिनी र दाहिनेतिर चामुण्डा भैरवी र त्यस्तै कालो रङको अर्को प्रस्तर मूर्ति छ । ती मूर्तिहरूलाई पञ्चभगिनी पनि भनिन्छ ।

पूजा समितिले वर्षका चारवटै नवरात्रमा ५६ प्रकारका परिकार बनाई मध्यरातमा पूजा गर्ने गर्दै आएको छ । पूजा गर्दा केही विघ्नबाधा उत्पन्न हुन थालेपछि भगवतीको सिंहासनमा एउटा जन्तर राखी महाअष्टमीको राति तान्त्रिक विधिद्वारा पूजा गर्ने गरिएको छ ।

वि.स. १९८४ मा सप्तरी जिल्लाको तिलाठी निवासी ज्योतिषी यदुनन्दन मिश्रले अष्टधातुले बनेको एउटा घण्टा सखडा मन्दिरमा चढाएका थिए । उक्त घण्टामा शक्रेश्वरी एकपटक र महिषमर्दिनी दुई पटक लेखिएको छ । यसबाट स्पष्ट हुन्छ कि शुक्रसिंहले आफ्ना इष्टदेवी भगवती स्थापना गरेका थिए ।

सखडा भगवतीको मूर्तिलाई सूक्ष्मरूपले हेर्दा तीनवटा टुक्रा मिलाएर स्थापित गरिएको देखिन्छ ।