सोमबार भदौ १४, २०७८/ Monday 08-30-21

इलाम नगरपालिका क्षेत्रबाट उद्धार गरिएका १५ वर्षीय वेवारिसे बालकको आफन्त खोजिदै

इलाम, एक महिना अघि इलाम नगरपालिका क्षेत्रबाट उद्धार गरिएका १५ वर्षीय एक बालकको ठेगाना पत्ता नलागे पछि आफन्तको खोजी थालिएको छ । मानव अधिकार मञ्च नेपाल इलामको सुरक्षित आवास गृहमा रहेका मीनकुमार मगर नाम बताउने ती बालकको ठेगाना पत्ता नलागे पछि उनको परिवार आफन्तको खोजीकार्य जारी राखिएको मञ्चको वाल हेल्पलाइन संयोजक भक्त थामीले बताउनुभयो ।

 

‘प्रहरीले सडकमा लडेको अवस्थाबाट उद्धार गरेको रहेछ, प्रहरीले पनि ठेगाना पत्ता लगाउन नसके पछि उनलाई मञ्चको सुरक्षित आवास गृहमा पठायो ।’ थामीले भन्नुभयो ‘अहिले सम्म बालकको ठेगाना र परिवार आफन्त कोही पनि पत्ता लगाउन सकिएको छैन ।’

राम्ररी बोल्ने भएपनि बालकले उदयपुर काठमाडौं घर थियो, त्यहाँबाट बस चढेर इलाम आएको भन्ने गरेकाले उनको ठेगाना पत्ता लगाउनै समस्या भएको थामीको भनाइ छ । ‘उनी राम्ररी बोल्छन्, खेल्छन, चित्र बनाउँछन्, तर, आफ्नो घरनै कहाँ हो भन्ने बताउँदैनन् ।’ थामीले भन्नुभयो ‘उनी मधुमेहका विरामी पनि छन् । सुरक्षित आभास गृहमा राखेर उनको उपचार गरिरहनु परेको छ ।’
थामीका अनुसार उपचारमा अस्पताल गइरहनु पर्ने र विभिन्न चेकजाँच र परिक्षण गरिरहनु पर्दा पाँच दिन देखि उनी कोभिड संक्रमित समेत भएका छन् । अहिले इलाम अस्पतालको कोभिड अस्पतालमा राखेर उपचार भइरहेको छ । उनको अवस्था सामन्यनै रहेपनि उनका आफन्त खोजीमा प्रहरी पनि रहेको जनाइएको छ । ‘प्रहरी र अधिकारकर्मीले मात्र उनको आफन्त पत्ता लगाउन सकेको छैन ।बालकको आफन्त खोज्नमा सञ्चार क्षेले पनि सहयोग गर्नुपर्ने अवस्था आएको छ ।’ मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले भन्नुभयो ‘सबै मिलेर परिवार वा आफन्त पत्ता लगाउन पाए एउटा बालकको हित हुनेछ ।’