शुक्रबार असोज १०, २०७६/ Friday 09-27-19

जमिन एक टुक्रो पनि बाँझो नराख्नूः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीयोग्य जग्गा एक टुक्रो पनि खाली नराख्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । जमिनमा आधुनिक र व्यावसायिक उत्पादन गर्न उनको आग्रह छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासंघको प्रथम केन्द्रीय कमिटीको बैठक र शपथग्रहण समारोहलाई आज ललितपुरको धोविघाटमा सम्वोधन गर्दै उनले कृषिमा आधुनिकीरण र व्यावसायीकरणका लागि सरकारले चलाएका पहलबारे पनि जानकारी पनि गराए ।

‘म आफैं हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमिन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ ।’

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कृषि आधुनिकरणलगायत कार्यक्रममार्फत कृषिक्षेत्रलाई अगाडि बढाउन खोजेको पनि जानकारी गराए । ‘हाम्रो संयन्त्र र विज्ञलाई जमिनको एक टुक्रो पनि खाली नहुने गरी नयाँ प्रविधिका साथ जमीनलाई चक्लाबन्दी वा सामूहिक खेतीतर्फ लान खोजेका छौं,’ उनले भने, ‘सहकारी वा किसान सहकार्यमार्फत एक क्षेत्रमा एक मात्रै धेरै उत्पादन गरी बजारीकरणहित लाभ लिने र निर्यात गर्ने स्थितिमा पुग्नुपर्छ । कृषि क्षेत्रलाई सरकारले दिने अनुदान र राहतमा निरन्तरता हुनेछ ।’

 

 

 

प्रधानमन्त्री ओलीले लामो समयको बलिदान र संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारीसँगै स्थिर सरकार सुशासन र विकासको बाटोमा लागेको र नेकपाको एकता प्रक्रियामा पूर्णतामा केही ढिलाइ भए पनि अब टुंगिएकाले पार्टीले गति लिने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कम्युनिस्टहरू झगडा गर्न र फुट्न मात्रै जान्दछन् भन्ने आरोप लागेका बेला आफूहरूले एकता गरी सामान्य बहुमत आउन गाह्रो हुने वर्तमान निर्वाचन प्रणालीमा पनि केन्द्रमा ६४ प्रतिशत मतसहित सरकार बनाएको उल्लेख गरे ।

‘विश्वमै नयाँ ढंगको एकताबद्ध र अनुशासित कम्युनिस्ट पार्टी शान्तिपूर्ण प्रतिस्पर्धाबाट सरकारका जान सक्छ र राष्ट्रिय हितमा काम गर्न सक्छ भन्ने स्थापित भएको छ । अब कोही गरिब र कोही धनी भइरहने अवस्थाको अन्त्य गरी न्याय र समतामूलक मानव जातिका लागि सुरक्षित र समृद्धिको यात्रामा सिङ्गै समाजलाई उठाउन हामी लागेका छौं,’ उनले भने ।

देशलाई आत्मनिर्भर बनाउन उत्पादनलाई निर्यात गर्ने कामको अगुवाइ गर्न महासंघका केन्द्रीय नेतालाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रमा अबको क्रान्ति आधुनिकीकरण, व्यावसायीकरण र उन्नत कृषिबाट मात्र हुने बताए ।