शुक्रबार असोज १०, २०७६/ Friday 09-27-19

बीमक संघको आचारसंहिताः कर्मचारीलाई संविधान विपरीत अंकुश

निर्जीबन बीमा कम्पनीहरुको संस्था नेपाल बीमक संघले जारी गरेको आचार संहितामा बीमा कम्पनीमा कार्यरत कर्मचारीलाई अंकुश लगाउने प्रावधान राखिएको छ । काम गरिरहेको कम्पनी छोडेर अर्काे कम्पनीमा जान चाहने कर्मचारीलाई विभिन्न शर्त र बन्देज लगाएर अप्ठेरो पार्ने व्यवस्था आचार संहितामा छ ।

नेपालको संविधानले पेशा व्यवसाय गर्ने वा छोड्ने व्यक्तिको मौलिक हकको रुपमा व्याख्या गरेको छ । तर, संघले जारी गरेको आचारसंहिताले यस्तो संबैधानिक अधिकारमाथि पनि धावा बोलेको एक कम्पनीका कर्मचारीले बताए ।

संघले जारी गरेको आचार संहिताको बुदा नम्बर ५ मा कम्पनीले कर्मचारी नियुक्ति गर्दा बीमा समितिबाट जारी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ अक्षरस पालना गर्नुपर्ने उल्लेख गरिएको छ । सोही बुदामा राखिएको अर्काे व्यवस्थामा भने एउटा कम्पनी छोडेर अर्काे कम्पनीमा जान चाहने कर्मचारीलाई भर्ना गर्ने कम्पनीले पहिला काम गरेको कम्पनीबाट राजीनामा स्वीकृत भएको पत्र बुझाउनु पर्ने भन्ने अनौठो व्यवस्था राखिएको छ ।

 

 

 

‘कुनै पनि कम्पनीमा कार्यरत कर्मचारीलाई अर्काे कम्पनीमा नियुक्ति दिंदा अनिवार्य रुपमा निजको पहिलो कम्पनीबाट राजीजनामा स्वीकृत भएको पत्र लिई मात्र नियुक्ति दिनुपर्नेछ,’ आचार संहिताको बुदा नम्बर ५ मा उल्लेख छ ।

यस्तो व्यवस्था आफैमा अनौठो भएको बीमा कम्पनीका कर्मचारीहरु बताउँछन् ।

यस्तो व्यवस्था आफैमा अनौठो भएको बीमा कम्पनीका कर्मचारीहरु बताउँछन् ।

‘एउटा कम्पनी छोडेको व्यक्तिले राजीनामा स्वीकृत गराउनेदेखि आफ्नो सबै दायित्व तथा जिम्मेवारी सम्बन्धित अधिकारीलाई बुझाएर छोड्छ, नयाँ कम्पनीमा जागिर खानको लागि पुरानो कम्पनीको राजीनामा स्वीकृत भएको पत्र पेश गर भन्नुको अर्थ कुन कर्मचारीलाई कुन विभागमा खटाउने भन्ने जस्तो गरी व्याख्या गरियो,’ एक बीमा कम्पनीका कर्मचारीले भने ।

बीमा कम्पनीहरुले अधिकृतस्तर वा सोभन्दा माथिल्लो तहमा कार्यरत कर्मचारीलाई कम्पनी परिवर्तन गर्नको लागि एक महिना बेरोजगार बस्नै पर्ने अर्काे हास्यास्पद व्यवस्था पनि आचार संहितामा राखिएको छ ।

आचार संहिताको बुदा नम्बर ५ मा नै ‘अधिकृतस्तर वा सोभन्दा माथि अधिल्लो बीमकले बर बुझारत भएको १ महिनापछि मात्र नियुक्ति दिन पाइनेछ,’ भन्ने व्यवस्था गरिएको छ ।

कर्मचारीले एउटा कम्पनी छोडेर अर्काे कम्पनीमा काम गर्ने सन्दर्भमा अपनाउनु पर्ने आचार संहिता सम्बन्धी व्यवस्था कर्मचारीको श्रम शोषण गरेर कज्याउने उद्देश्यले आएको कर्मचारीको बुझाइ छ ।

‘काम गरिरहेको कम्पनीमा पाइने सेवा सुविधा, अवसर तथा बृत्तिविकास सम्बन्धी अन्य व्यवस्थाहरु राम्रो छन् भने कसैले पनि जागिर छोड्दैन, अर्काे कम्पनीमा राम्रो अवसर आयो भने मात्रै पुरानो कम्पनी छोड्ने हो, यहाँ त सबै बीमा कम्पनीका साहूँहरु मिलेर कर्मचारीलाई कज्याउने र श्रम शोषण गर्ने उद्देश्य रहेको प्रष्ट भयो,’ अर्काे एक बीमा कम्पनीका कर्मचारीले भने ।

कर्मचारीहरुले भने बीमा कम्पनीहरु मिलेर रोजगारीको अवसरमा कार्टेलिङ गरेको आरोप लगाएका छन् ।